भूमि प्रशासनलाई सूचना प्रविधियुक्त बनाइँदै

बिहीबार, माघ २६, २०७९

काठमाडौँ– भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ ।

परम्परागत शैलीका अभिलेख र कार्य प्रणालीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गरिए मात्र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन सकिने उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भू–सेवा केन्द्र सबै कार्यालयमा विस्तार गरी जग्गाधनीलाई विद्युतीय नम्बर प्रदान गरिने लक्ष्य रहेको बताए ।

उनले भने, ‘नापी विभाग र कार्यालयको मेरो कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन् । मालपोत कार्यालयका १ करोडभन्दा बढी कागजी अभिलेखलाई शीघ्र विद्युतीय अभिलेखमा रूपान्तरण गर्ने काम बजेट अभावका कारणले चुनौतीपूर्ण छ ।’

चालु आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ ।

वैदिककालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन छ । महिषपाल तथा किराँतकालमा भने जग्गाधनी पुर्जा जस्तै ‘लेख्य’ नामको प्रमाण दिइने र उत्पादनअनुसार जग्गाको कुत तिर्नुपर्ने व्यवस्था थियो ।

मालअड्डामा घरजग्गाको रजिस्ट्रेसन पास गर्ने कार्यको सुरुआत भने १९७९ वैशाख १ गतेदेखि सुरु भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो ।

१९९६ सालमा काठमाडौँमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो ।

सचिव डा. रेग्मीका अनुसार हाल मुलुकमा २१ भूमि सुधार र ११० मालपोत कार्यालय छन् । मुलुकमा १३१ नापी कार्यालय र ७ वटा विशेष नापी कार्यालय छन् ।

ती कार्यालयले वार्षिक डेढ खर्ब राजस्व उठाउने गरेकामा त्यसमध्ये ५० अर्ब संघमा, ६० अर्ब स्थानीय तहमा र ४० अर्ब प्रदेशमा रहने सचिव रेग्मीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्