सांसदको राजीनामाबारे मस्यौदा समितिको बैठकमा मतभिन्नता

बुधबार, माघ २५, २०७९

काठमाडौँ–प्रतिनिधि सभा सदस्यले आफ्नो पदबाट राजीनामा दिदाँ सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा प्रतिनिधि सभा सदस्यहरुको मत बाझिएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्था सम्बन्धी छलफलका क्रममा राजीनामा दिने सांसदले सभामुख समक्ष सनाखत गर्ने कि नगर्ने भन्ने सम्बन्धमा प्रतिनिधि सभा सदस्यहरुको मत बाझिएको हो । 

बैठकमा बोल्दै समिति सदस्य सुवासचन्द्र नेम्वाङले विगतको अभ्यास सनाखत गर्ने रहेको बताए । उनले संविधानमा भने राजीनामा दिएपछि स्वीकृत या सनाखत नगरी सो पद रिक्त हुने व्यवस्था भएको पनि उल्लेख गरे ।

कसैले सनाखत गर्ने गरेको र कसैले सनाखत नगर्ने गरेको भन्दै उहाँले यो दुवै दृष्टान्तलाई हेरेर उपयुक्त व्यवस्था गर्नुपर्ने बताए ।

‘हाम्रो विगतको अनुभव र अभ्यासले सनाखत गरेको हो । कहिलेकाहीँ के देखिएको छ त भन्दा राजीनामा आउने तर पछि सनाखत गर्न आउनुस् भन्दा त्यसबाट उहाँ पछाडी फर्किने । हाम्रो संविधानले राजीनामा दिएमा रिक्त हुन्छ भनेको छ,’ सदस्य नेम्वाङले भने, ‘अरु केही पनि गर्नुपर्दैन । स्वीकृत पनि गर्नुपर्दैन । केही पनि गर्नुपर्दैन । लिखित राजीनामा दियो कि सिद्धियो । स्थिति त्यो छ । त्यसकारण एउटा यो पार्टलाई पनि हेर्नुपर्‍यो यो भाषाले बोक्ने गरेर । कुनै माननीयले आएर मैले राजीनामा गरेँ भनेर तपाई यसमा सनाखत गर्नुहुन्छ त भनेर सभामुखले भन्दा मैले राजीनामा गरेको हुँ भनेर सनाखत गरिदिनुहुन्छ । यो सबै परिदृश्यलाई मिल्ने गरेर भाषा मिलाउँ ।’ 

बैठकमा बोल्दै समिति सदस्य प्रदीप यादवले आफूहरुको हस्ताक्षरको दुरुपयोगगर्दै राजीनामा बुझाउन सक्ने भन्दै स्वयं व्यक्तिले सनाखत गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

यादवले भने, ‘हामी राजनीतिकर्मी । हाम्रो हस्ताक्षर धेरै ठाउँमा गरेको हुन्छ । त्यो लगेर बुझाइदियो भने बाटो बाटै सांसद गइहाल्छ । त्यसकारण सम्बन्धित माननीयज्यु आएर हस्ताक्षर गर्‍यो भने त्यो ठिक हुन्छ ।’

समिति सदस्य प्रेम सुवालले भने लिखित राजीनामा गरिसकेपछि सनाखत गरिरहनु आवश्यक नभएको तर्क गरे । कतिपयले राजीनामा गरेपछि पनि सनाखत अघि बार्गेनिङ गर्ने गरेको भन्दै सनाखत गर्ने व्यवस्था राख्न आवश्यक नरहेको बताए ।

उनले राजीनामा दिइसकेपछि स्वतः स्वीकृत गर्ने व्यवस्था गर्नुपर्ने बताए । 

सुवालले भने,  ‘उहाँले राजीनामा पेस गरीसकेपछि पनि बाँकी रहन्छ ? सनाखत होस् या नहोस् पेस गरिसकेपछि सनाखत गर्न आउने जसले राजीनामा गर्‍यो उहाँको इच्छाको कुरा । सनाखत नै गर्दिन मैले राजीनामा दिएँ भनेपछि बार्गेनिङ ? करोडौँ रुपैयाँ लिएको पनि भेटिएको छ राजीनामा दिएर सनाखत नगरी । राजीनामा दिइसकेपछि सनाखत भएन भन्न मिल्दैन । राजीनामा दिनेले सनाखत गर्ने हो । नगरे सकियो ।’

यसअघि सांसदहरुले राजीनामा गरेर बार्गेनिङ गर्ने गरेको तथा सार्वजनिक व्यक्ति भएकाले हस्ताक्षरको दुरुपयोग पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै राजिनामा सम्बन्धी प्रावधानलाई व्यवहारिक बनाउनुपर्नेमा समिति सदस्यहरुले जोड दिएका थिए ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्