तामाङ र नेवारीलाई सरकारी कामकाजको भाषा बनाउन कार्यदल

बुधबार, माघ २५, २०७९

काठमाडौँ –बागमती प्रदेश सरकारले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गर्न अध्ययन कार्यदल बनाएको छ । 

बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले सामाजिक विकासमन्त्री कुमारी मोक्तानको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

समितिको सदस्यमा श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, पर्यटन र उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ छन् । कार्यदलको सदस्य सचिवमा प्रदेश सरकारको एक सचिव रहनेछन् भने अर्का एक सदस्य सोही क्षेत्रका विज्ञ रहने छन् ।

दुवै सदस्यहरू केही दिनमा नै नियुक्त गरेर कार्यदलले काम गर्ने कार्यदल संयोजक सामाजिक विकासमन्त्री मोक्तानले जानकारी दिइन् ।

तामाङ र नेवारी भाषालाई प्रदेश सरकारको सरकारी कामकाजमा प्रयोग गर्न भाषा आयोगले सिफारिश गरेपछि त्यसलाई कार्यान्वयन गर्ने निर्णय अघिल्लो सरकारले गरेको थियो । यसलाई अगाडि बढाउन अध्ययन कार्यदल गठन भएको हो ।

लामो समयदेखि नेवाः र तामाङ आदिवासीले बागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा मान्यता दिन माग गर्दै आएका थिए ।

भाषा आयोगले २०६८ सालको जनगणनाअनुसार वक्ताको संख्यालगायतका आधारमा विभिन्न प्रदेशमा ११ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिश गरेको छ ।

जसमा तामाङ, नेवारी, मैथिली, मगर, गुरुङ, भोजपुरी, बज्जिका, थारू, गुरुङ, डोट्याली र अवधी छन् । तामाङ र नेवारी भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउन आयोगले सिफारिश गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्