सडक सञ्जालसँग जोडियो बाँफिकोट

बुधबार, माघ २५, २०७९

रुकुम - बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो । बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ । तर बाँफिको–१० मा भने बल्ल सडक पुगेको छ । 

'घर आँगनबाटै गाडी चढ्ने सपना पूरा हुने भएको छ, स्थानीय ७७ वर्षीय विर्खे कामीले भने। भौगोलिक विकटताका कारण लामो समयसम्म सडक जोडिन नसकेको सानीभेरी गाउँपालिका र बाँफिकोटको भेरी पारिपट्टिको भूगोल पहिलो पटक सडक सञ्जालसित जोडिएको हो ।

बाँफिकोट–१० को गाराघाट र सानीभेरी गाउँपालिका–३ गरायलादेखि भेरी पारि पट्टीका विभिन्न ठाउँ सडक सञ्जालसित जोडिएका छन् । 

आर्थिक वर्ष २०६७/६८ देखि सडक खन्ने योजना बनेको हो । आव २०७४/७५ देखि सडक निर्माण थालिएको हो । चालु आवमा सानीभेरी–३ र बाँफिकोट–१० सडक सञ्जालसित जोड्न सकिएको बाँफिकोट–१० का वडाध्यक्ष हरि चन्दले बताए । गाराघाटबाट सानीभेरीको सिमाना मैदुलोटेसम्म करिब ७ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । 

सडक निर्माणमा हालसम्म १ करोड ८५ लाख खर्च भएको वडाध्यक्ष चन्दले बताए। केही ठाउँमा सडकको काम भइरहेको छ । सानीभेरी–३ पेदीबजार हुँदै मैदुलोटेसम्म करिब ९ किलोमिटर सडक निर्माण भएको छ ।

उक्त सडक निर्माण गर्न १ करोड ५० बढी बजेट खर्च लागेको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताए तर सडक मर्मत भने हुन नसकेको उनको भनाइ छ ।

भेरीपारि सडक सञ्जालमा जोडिएसँगै बाँफिकोट र सानीभेरीका विभिन्न ठाउँमा पहिलो पटक ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन पुगेका छन् । नियमित सवारी साधन सञ्चालनका लागि केही ठाउँमा मर्मतको काम गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था भइसकेको बाँफिकोट–१० का वडाध्यक्ष चन्दले बताए। 

नजिकै भएर पनि विकट ठाउँका रुपमा रहेका बस्ती सडक सञ्जालमा जोडिएको र अब त्यसको सुधार तथा थप बस्तीमा विस्तारका लागि प्रयास भइरहेको चन्दको भनाइ छ ।

उनका अनुसार एकता आधारभूत विद्यालय सेजेदेखि बालहित आधारभूत विद्यालयसम्मको ४ किलोमिटर सडक निर्माणका लागि ५० लाख बजेट आएको छ । 

त्यस्तै मयारीदेखि भानुभक्त माविसम्मको डेढ किलोमिटर सडक निर्माणका लागि ३० लाख बजेट आएको छ । मुख्यरुपमा वडा सडक सञ्जालमा जोडिएपछि अब बस्ती बस्ती जोड्ने सडक प्राथमिकतामा रहेको वडाध्यक्ष चन्दले बताए । 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्