बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि...

सोमबार, माघ २३, २०७९

तनहुँ–जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ ।

जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोग्नुपरेको हो । 

सोही वडास्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत मौरतीका बाबुको निधन भइसकेकाले घरका अन्य सदस्यको आयस्रोत नहुँदा उपचारमा समस्या भएको स्थानीय समाजसेवी गल गुरुङले जानकारी दिए ।

आर्थिक अवस्था अत्यन्त न्यून रहेका मौरती परिवारले उपचार खर्च जुटाउन नसकेपछि गुरुङकै सक्रियतामा करिब दुई लाख ३० हजार रुपैयाँ सङ्कलन गरी उपचारमा सहयोग गरिएको उनले बताए । बालक मौरतीको उपचारको लागि खर्च जुटाउन सोही वडा निवासी देशविदेशमा रहेका व्यक्तिले सहयोग गरेका कारण उपचारमा केही हदमा सहज भएको उनले बताए । 

फोक्सो र कलेजोमा समस्या भएपछि काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पहिलो फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने दोस्रो पटक कलेजो पाइपमार्फत शल्यक्रिया गरिएको थियो । अबको दुई हप्तापछि पुनःफलोअपका लागि चिकित्सकले सम्पर्क गर्न जानकारी दिएको र अहिले दोस्रो शल्यक्रियापश्चात बालक मौरती घर फर्किएका हुन् ।

बालकको उपचारका लागि अझै आर्थिक अभाव हुने देखिएकाले सहयोगी मनले सहयोग गरिदिन आर्थिक सङ्कलन अभियन्ता गुरुङले आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्