सहज अवस्थामा अर्थतन्त्र, शोधनान्तर स्थिति ९७ अर्ब रुपैयाँ बचतमा

सोमबार, माघ २३, २०७९

काठमाडौँ– देशको आर्थिक अवस्थामा सहज हुँदै गएको छ । केही महिनाअघि शोधनान्तर स्थिति नोक्सानीमा गएर संकटपूर्ण देखिएको अर्थतन्त्र अब भने लयमा फर्किएको तथ्यांकले देखाएका हुन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत पुस मसान्तसम्ममा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको पुस मसान्तसम्मको अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड ४४ लाख डलरले बचतमा रहेको छ । निश्चित अवधिमा देशमा भित्रने र देशबाट बाहिर जाने रकमको कुल हिसाव नै शोधनान्तर स्थिति हो ।

चालु खाता घाटा पनि कम हुँदै गएको छ । गत पुस मसान्तसम्ममा चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाख डलर घाटामा रहेको छ । 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्