राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

सोमबार, माघ २३, २०७९

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मोन्टी देसाई नियुक्त भएका छन् । 

केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

देसाई मुख्य प्रशिक्षमा नियुक्त भए पनि क्यानले यसको औपचारिक घोषणा गरिसकेको छैन । राष्ट्रिय खेलकुद परिषद्बाट पत्र आइनसकेको जनाउँदै क्यानले घोषणा नगरेको हो ।

देसाई यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन् । उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गरिसकेका छन् ।  

उनले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए ।

औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।

क्यानले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका २४ जनामध्ये अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता गरेको थियो । 

आवेदन दिएकामध्ये भारती प्रशिक्षक मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग अन्तर्वार्ता लिइएको हो ।

क्यानको प्रशिक्षक छनोट समितिले मोन्टीको नाम सिफारिस गरेपछि कार्यसम्पादन समितिले निर्णय गरी ११ माघमा राखेपलाई सहमतिका लागि पठाएको थियो । राखेपले मन्त्रालय पठाए पनि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हालेको हुनाले गत विहीबार प्रधानमन्त्री कार्यालय पुगेको प्रशिक्षक नियुक्ति फाइल शुक्रबार सदर भएर आइतबार राखेप आएको हो ।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले गत मंसिर अन्तिम साता राजीनामा दिएपछि नेपाली प्रशिक्षकविहीन छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो । तर उनी ४ महिना पनि टिक्न नसकेर राजीनामा दिइ फर्किएका हुन् । देसाई वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक हुन् । आवेदनमध्येबाट देसाई नेपाल आएर जिम्मेवारी पाएका हुन् । 

वेष्ट इण्डिजसँगको सम्झौता सकिएपछि देसाई नेपाल आएका हुन् । नेपाली क्रिकेटलाई नजिकबाट नियालेका देसाईले नेपालको ब्याटिङ लाइन सुधार्ने अपेक्षा छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्