पप्पुको बद्‍मासी : टेकु पुल ५ वर्षदेखि प्रयोगविहीन, नयाँ ठेक्कामा तीनकुने पुल

सोमबार, माघ २३, २०७९

काठमाडौँ– पप्पु कन्स्ट्रक्सन कम्पनीको लापरबाहीका कारण काठमाडौँका २ वटा पुल लामो समयदेखि अलपत्र परेका छन् ।

टेकु–कालीमाटी जोड्ने पुल र तीनकुनेको पुल निर्माणका क्रममा निर्माण कम्पनीले त्रुटि गरेपछि दुवै पुल अलपत्र परेका हुन् ।

दुवै पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो । तर, निर्माणका क्रममा कम्पनीले त्रुटि गरेपछि ती पुलको निर्माण रोकिएको छ । ठेकेदार कम्पनीको लापरबाहीले निर्माण करिब सम्पन्न भए पनि टेकु पुल सञ्चालनमा आउन सकेको छैन भने तीनकुनेको पुलको निर्माण बीचमै रोकिएको छ ।

टेकु पुल तोकिएको डिजाइन र ‘स्पेसिफिकेसन’ अनुसार नभएको र त्रुटि देखिएपछि सडक विभागले पत्राचार गर्दै निर्माण रोक्न निर्देशन दियो ।

निर्माणको काम अन्तिम चरणमा पुगेको ५ वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन । सन् २०१४ मा निर्माण सुरु गरिएको सो पुल सन् २०१६ मा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । 

तर, सो अवधिमा निर्माण पूरा नगरेपछि सरकारले १ वर्ष म्याद थप गर्‍यो । थपिएको अवधिमा ७० प्रतिशत निर्माण सक्दा पुलको डिजाइनमा त्रुटि देखिएपछि पुल सञ्चालनमा पनि रोक लगाइएको थियो ।

कुल २० करोड १३ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल निर्माणमा पप्पुले झन्डै १४ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ ।

बाँकी भुक्तानी र क्षतिपूर्तिको माग गर्दै निर्माण कम्पनी अदालत गइसकेको छ । जिल्ला र उच्च अदालतले सरकारको पक्षमा फैसला गरेपछि पप्पु सर्वोच्च गएको थियो । तर, सर्वोच्चले मुद्दाको फैसला नगर्दा अहिले टेकु पुल न सञ्चालनमा आउन सकेको छ, न त भत्काएर नयाँ ठेक्कामै जान सकेको छ । 

‘सर्वोच्चबाट अझै फैसला आएको छैन । फैसला नआउँदा काम रोकिएको हो । अहिले नै पुल भत्काइयो भने पछि निर्णय अर्कै आयो भने सरकारलाई अर्को जिम्मेवारी थपिन्छ,’ सडक डिभिजन काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेले सिएन नेपालसँग भने ।

सर्वाेच्चको फैसलापछि उपयुक्त आवश्यक निर्णय लिने उनको भनाइ छ ।

पप्पुले टेकु पुलमा जस्तै तीनकुने पुल निर्माणमा पनि उही नियति दोहोर्‍यायो । अर्थात, स्वीकृत डिजाइनअनुसार पुल बनाएन । २९.५ मिटर गहिरो १६ वटा १ हजार २०० मिलिमिटरका पाइल निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएकामा पप्पुले १६.५ मिटर मात्रै गहिरो हुने गरी ३ वटा पाइल बनायो । जहाँ २ वटा पाइल चर्केको अवस्थामा थिए ।

कमसल निर्माण सामग्री र निर्माणमा देखिएको लापरबाहीका कारण पुल अलपत्र परेको भन्दै संसद्को विकास तथा प्रविधि समितिले पनि स्थगलत अनुगमन गरी निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएको थियो । 

डिजाइनमा देखिएको त्रुटि सच्याएर पुनः डिजाइन गरी पुल निर्माण गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्देशन दिए पनि पप्पुले निर्देशन पालन गरेन । 

जसोतसो पुनः डिजाइन गरी प्रतिवेदन पेस गरे पनि आयोजनाले चित्त नबुझाएपछि उक्त डिजाइन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा पठाइएको थियो ।

संस्थानले पनि स्वीकृत डिजाइनअनुसार काम नभएको ठहर गरेपछि आयोजनाले बाँकी काम अघि नबढाउन पप्पुलाई निर्देशन दिएको थियो ।

२०७१ पुस ३ मा काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सनबीच पुल निर्माणसम्बन्धी सम्झौता भएको थियो ।

३ वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल १ वर्ष म्याद थप गर्दा पनि पप्पुले पूरा गर्न सकेन । त्यसमाथि पनि स्वीकृत डिजाइनअनुसार काम नगरेपछि अन्ततः आयोजनाले पप्पुसँगको ठेक्का तोडिसकेको छ । 

कुल २१ करोड लागत अनुमान गरिएको उक्त पुलको निर्माणमा पप्पुले ६ करोड रुपैयाँ खर्च गरिसकेको आयोजनालाई जानकारी गराइसकेको छ । तर, निर्माणबापतको भुक्तानी नपाएको ठेकेदार कम्पनीको गुनासो छ ।

आफूले पाउनुपर्ने भुक्तानी र क्षतिपूर्तिको माग गर्दै पप्पु अदालत गएको थियो । अहिले पनि पप्पुले आयोजनाका नाममा भुक्तानी र क्षतिपूर्ति पाउँ भनेर पत्र काटिरहेको तीनकुने पुल निर्माण आयोजनाका सूचना अधिकारी महानन्द जोशी बताउँछन् ।

उनका अनुसार पप्पुसँगको ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया अघि बढिसकेको छ । वाइपी किराँतेश्वर कन्स्ट्रक्सनले ठेक्का पाइसकेको उनले बताए । 

‘तीनकुने पुलका सन्दर्भमा पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लागिसकेको छ । वाइपी किराँतेश्वर कन्स्ट्रक्सनले ठेक्का लिइसक्यो । उसले पुनः डिजाइन गर्न परामर्शदाता नियुक्त गरिसकेको छ । डिजाइनको प्रक्रिया सुरु हुँदै छ,’ आयोजनाका सूचना अधिकारी जोशीले भने ।

उनले कानुनी प्रक्रिया बुझेर, लेखेर, सोधेर नै नयाँ प्रक्रिया सुरु गरिएको जानकारी दिए । आफूहरूले प्रक्रियागत रूपमा काम गर्दा पनि पप्पुले मुद्दा हालेर अनावश्यक दुःख दिएको उनको गुनासो छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्