हिउँ खेल्न जानेलाई थपिँदै सुविधा

सोमबार, माघ २३, २०७९

रसुवा– हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको भएको छ ।

दोस्रो ‘सिजन’अन्तर्गत लाङटाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदा मार्गअन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन सुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र ‘बेड विस्तारा’ मर्मत अगाडि बढेको हो ।

विशेष गरी फागुनको पहिलो हप्तादेखि हिमाली पदयात्रामा पर्यटकको आगमन सुरु हुन्छ । हिमाली क्षेत्रको चिसो स्थानमा रातको सुताइ तातो बनाउन विगतको तुलनामा यस वर्ष धेरै व्यवस्थापन गरिएको पर्यटकीय होटल व्यवसायी संघले जनाएको छ ।

संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले मङ्सिर, पुस एवं माघ महिनाको तेस्रो हप्ता बित्दासमेत हिमपात नभएको र फागुनमा पर्न सक्ने हिउँ हेर्न र खेल्न पर्यटक बढ्न सक्ने बताए । उनले भने, ‘पाहुनाको सुविधाका लागि होटल तथा लजको थप सुदृढीकरण गरिएको हो ।’

असोज, कात्तिक, मङ्सिर पहिलो र फागुन, चैत, वैशाख दोस्रो सिजनका रूपमा आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँकुण्ड, लाङटाङ एवं तामाङ सम्पदा मार्गको गतलाङ, नाकथली, थुमनलगायत क्षेत्रमा भ्रमण गरी प्राकृतिक छटाको अवलोकन गर्ने गरेको बताइएको छ ।

यस दोस्रो सिजनअन्तर्गत आन्तरिक मात्रै २५ हजार पर्यटक रसुवा पुग्ने स्थानीय व्यवसायीको अनुमान छ ।

पर्यटकका लागि धुन्चे, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक तथा गोसाइँकुण्ड र लाङटाङका लागि ठुलोस्याफ्रु, बम्बो, लामा होटल, घोडा तबेला, लाङटाङ, क्याङ्जेनलगायत स्थानमा सयाँै होटल सञ्चालित छन् ।

पश्चिम लाग्दा तामाङ सम्पदा मार्ग र पूर्व लाग्दा लाङटाङ जाने मुख्य केन्द्रका रूपमा पर्यटकका लागि स्याफ्रुबेँसी स्थापित भएको छ ।

तामाङ सम्पदा मार्गको गतलाङ र वृद्विममा होमस्टे छन् भने नाकथली तथा थुमनमा होटल तथा लज सञ्चालनमा रहेका कारण स्थानीय स्तरका कृषि उपजबाट पकाइएका स्वादिष्ट भोजन पाहुनालाई खुवाइने अध्यक्ष गजुरेलले बताए ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्