रास्वपाका तीन मन्त्रीले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

आइतबार, माघ २२, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपा पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका हुन् ।

रास्वपाको आज बसेको बैठकले सरकारको समर्थन कायम राख्ने तर सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

पार्टी सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले उनको सांसद र मन्त्री पद खारेज गरिदिएको थियो । 

अदालतको फैसलासँगै उनले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेका थिए ।

नागरिकता लिएसँगै आफूलाई पुनः गृहमन्त्री बनाउन दबाब दिइरहेका लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक नभएपछि गठबन्धनमा खटपट सुरु भएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्