सरकारबाट बाहिरियो रास्वपा

आइतबार, माघ २२, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । 

आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

पार्टी सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो । 

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले उनको सांसद र मन्त्री पद खारेज गरिदिएको थियो । 

अदालतको फैसलासँगै उनले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेका थिए ।

नागरिकता लिएसँगै आफूलाई पुनः गृहमन्त्री बनाउन दबाब दिइरहेका लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक नभएपछि गठबन्धनमा खटपट सुरु भएको थियो । 

गठबन्धन दलहरूको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताउँदै आएका थिए । 

तर, प्रचण्डले भने गृह मन्त्रालयको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका थिए । रास्वपाले भने गृह मन्त्रालयमा आफ्नो दाबी राखेको थियो ।

सर्वोच्चको पूर्ण पाठ नआएसम्म गृहबारे कुनै निर्णय नगर्ने अडानमा प्रचण्ड छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्