बाघको कथा सुनाउँदै ओलीले कांग्रेसलाई भने– ट्राई योर बेस्ट 

आइतबार, माघ २२, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सत्तारूढ दलको गठबन्धन भत्काउने प्रयासमा लागेको तर सफल नहुने दाबी गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले सरकारमा आउन कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मतमार्फत ढोक्सा थापिरहेको र त्यो रित्तै हुने दोहोर्‍याएका हुन् । 

प्रधानमन्त्रीले विश्वासको मत लिने संसद् बैठकमा पनि ओलीले सोही अभिव्यक्ति दिएका थिए । 

‘साँझ ढोक्सा थापिन्छ– अँध्यारोमा माछा मार्ने उद्देश्यले । बिहान हेर्दा ढोक्सा रित्तै हुन्छ । रित्तो ढोक्सा बोक्यो घर फर्कियो’, ओलीले भने । 

कांग्रेसले प्रधानमन्त्रीलाई ललाई फकाई गरिहेको भन्दै संसद्मा बूढो बाघ र एउटी महिलाको कथा सुनाए । 

यस्तो छ ओलीले सुनाएको कथा–

एउटा बूढो बाघ रहेछ । त्यसले एक जना महिलालाई झम्टेर मारेछ । बाघले महिलालाई खायो । ती महिलाले सुनको बाला लगाएकी रहिछन् । मान्छे खाए पनि बाला बाँकी रह्यो । 

बाघ बूढो भएका कारण बाहिर निस्कन नसक्ने भयो । गुफामा बस्दो रहेछ र बाहिर हिँड्ने मान्छेलाई त्यही सुनको बाला देखाउँदो रहेछ । 

मान्छेले त्यो बाला अलि पर फ्याँकिदिनुस् न भन्दा नजिकैबाट दिन्छु, हातैमा मात्रै दिन्छु भन्दो रहेछ । जब बाला लिन नजिक गयो झ्याप्पै पार्नेरहेछ ।

अहिले साथीहरू बाला देखाइरहनुभएको छ । 

कथा सुनाएपछि ओलीले भने, ‘सरकारमा रहेका दलहरूले आफ्नो र देशको बारेमा बुझेका छन् र सुनको बाला टिप्न जाने कोही छैनन् ।’ 

पुस १० सम्म निषेधको राजनीति रहेको र अहिले भने त्यो निषेधको राजनीति सहमतिको राजनीतिमा उल्टिएको ओलीले बताए ।

‘पुस १० सम्मको निषेधको राजनीति फ्याट्ट उत्तानो परेको छ । र त्यो सहमतिका

 राजनीति भएको छ’, ओलीले बताए । 

राष्ट्रिय सहमतिको नाममा कांग्रेसले सरकार ढाल्ने प्रयास गरिरहेको दाबी गर्दै भने– ट्राई योर बेस्ट । 
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्