राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने

आइतबार, माघ २२, २०७९

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ । आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णयमा पुगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

‘संघीय संसदमा विपक्षमा रहेका दलहरुसँग छलफल गर्यौं, त्यो छलफलमा अहिले राष्ट्रियसभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिऊ भन्ने कुरा आयो, सोही अनुसार हामीले उम्मेदवारी नदिने निर्णय गरेका हौं, हामीले कसैलाई पनि समर्थन गरेर उम्मेदवारी नदिने निर्णय गरेका होइनौं,’ प्रमुख सचेतक लेखकले सिएन नेपालसँग भने ।

कांग्रेसको यो निर्णयसँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने सम्भावना छ ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना एमालेबाट भएकाले उपाध्यक्षमा माओवादीलाई सघाउने निर्णय एमालेले यसअघि नै गरिसकेको थियो ।

उपाध्यक्षको लागि आज मनोनयन दर्ता हुँदैछ । राष्ट्रियसभामा हाल ५८ सांसद छन् । अध्यक्षले मतदान नगर्ने भएकाले ५७ मध्ये २९ मत पाउनले उपाध्यक्ष जित्न सक्छन् ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्