बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण

आइतबार, माघ २२, २०७९

तुलसीपुर – बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण तालिम दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको  हो । यस्ता कार्यक्रम १९ वटै वडामा  कार्यक्रम सञ्चालन हुने जनाइएको छ । 

उपमहानगरपालिकाका १० वटामा धर्मगुरुलाई सचेत पारिने तथा अन्य वडामा र्‍याली गरिनेछ । 'बालविवाह न्यूनीकरण हुनसकेको छैन, त्यसैले हामीले यो अभियान चलाउने गरेका छौँ,' सहायक महिला विकास निरीक्षक पुष्पा शर्माले  भनिन् ।

विवाह गराउने भनेको धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूले नै रहेको भन्दै उमेर नपुगी आउने विवाहलाई रोक्नुपर्ने भन्दै सचेत बनाएको उनले बताइन्। उनका अनुसार विवाह गरेर आउने जोडीको नागरिकता हेरेरमात्रै आवश्यक कार्य गर्दा बालविवाह रोकिने भन्दै यसमा धर्मगुरुहरूकै बढी हात हुने उनको भनाइ छ ।

तुलसीपुरको काकिला मन्दिर र कृष्ण मन्दिरमा नागरिकता हेरेर विवाह गर्ने निर्णय नै भएको भन्दै सबै मन्दिर तथा गाउँघरमा गरिने विवाहमा पनि पण्डितहरूले नागरिकता हेर्ने गर्नुपर्ने बाल अधिकारकर्मी नवराज लामिछानेले बताउँछन्। 

'बालविवाह गराएमा पण्डितलाई पनि मुद्दा चल्छ, त्यसैले सचेत हुनुपर्छ, पण्डितहरू सचेत भए बालविवाह धेरै न्यून हुन्छ,' उनले भने । 

सम्बन्धित वडाको सहआयोजना तथा युनिसेफको समन्वयमा कार्यक्रम भइरहेको उनले बताए। तुलसीपुरका ४ वटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०८:०१
प्रतिक्रिया दिनुहोस्