समाचार टिप्पणी

प्रधानमन्त्रीको दुःख : संसदमा ‘प्रचण्ड विश्वास’ तर छिनछिनमै सरकार ढल्ने त्रास

शुक्रबार, माघ २०, २०७९

काठमाडौं– पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ९९ प्रतिशत सांसले उनको पक्षमा मतदान गरे । 

२७५ सदस्यीय संसदमा उनले २६९ जना सांसदको मत पाएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड स्वयंलाई भने त्यति मत पाउँछु भन्ने विश्वास थिएन् । 

कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्किएर एमालेको साथमा पुगेका प्रचण्डलाई विश्वासको मत लिनुभन्दा केही दिनअघिसम्म विश्वासको मत लिँदा नै सरकार समस्यामा पर्ने हो कि भन्ने भय थियो । अन्ततः उनको भयले हार्‍यो । विश्वासले जित्यो । आशै नगरेको नेपाली कांग्रेसले भने प्रधानमन्त्रीप्रति विश्वास जाहेर गर्‍यो । 

त्यसदिन मतदानमा २७० सांसदमध्ये २ जनाले मात्रै विपक्षमा मत दिएका थिए । त्यसबेला प्रचण्डले पाएको मत र कांग्रेसले गरेको विश्वासबारे खुबै चर्चा भएको थियो । 

अपेक्षा गरेभन्दा बढी मत संसदमा पाएपछि प्रधानमन्त्री प्रचण्डले आफू सर्वस्वीकार्य भएको बताउने गरेका थिए । 

तर, विश्वासको मत पाएको एक महिना पनि पूरा नहुँदै प्रचण्ड सरकारको भविष्यको रङ छिनछिनै बदलिन थालेको छ । 

deuba prachanda1675162501.jpg

प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने दलमध्ये २० सांसद रहेको (अहिले १९ सांसद रहेको) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), ४ सांसद रहेको (अहिले ३ जना मात्रै) नागरिक उन्मुक्ति पार्टी र ६ जना सांसद रहेको जनमत पार्टीले सरकारबाट बाहिरिने धुर्की दिइरहेका छन् ।

नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग राष्ट्रपतिको बार्गेनिङ गरिरहेको छ । संसदमा विश्वासको मत पाएपछि कांग्रेसप्रति प्रचण्डको मन पग्लिएको छ । पछिल्ला दिनमा प्रचण्ड कांग्रेसँग लहसिन थालेपछि सरकारलाई बलियो आधार दिएको नेकपा एमालेमा प्रधानमन्त्रीप्रति संशय बढ्न थालेको छ । 

केही गरी नेकपा एमालेले राष्ट्रपति नपाउने अवस्थामा प्रचण्ड नेतृत्वको सरकार के हुन्छ भन्ने अहिल्यै आँकलन गरिहाल्न सक्ने अवस्था छैन् । अर्थात राजनीति असाध्यै तरलरूपमा अघि बढिरहेको छ । काठमाडौं बढ्दै गरेको गर्मीसँग दिनदिनै पग्लिरहेको राजनीतिले कुन बेला कसलाई बगाउने हो भन्ने आँकलन गर्न अप्ठ्यारो छ ।  

Prachanda_K-P-Oli_20180604_402_6021675229965.jpg

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने संयुक्त सरकारमा यस्तो जोखिम सधैं रहने बताउँछन् । सरकारको नेतृत्व गरेको दलको बहुमत नभएको स्थितिमा सरकारको भविष्य सत्ता गठबन्धनमा दलहरुको व्यवहारमा निर्भर हुने उनको भनाई छ । 

‘धेरैवटा दल मिलेर अहिलेको सत्ता गठबन्धन बनेको छ । नेपाली काँग्रेसले विश्वासको मत दिए पनि राजनीतिकरूपमा मात्रै दिएको हो । त्यसैले सत्ता गठबन्धनका दलहरुमा खटपट देखिँदा सरकार संकटमा परेको जस्तो देखिनु स्वभाविक हो’, श्रेष्ठले सिएन नेपालसँग भने ।

बाहिरबाट हेर्दा संकट जस्तो देखिए पनि अहिले नै सरकार ढलिहाल्ने अवस्थामा भने नरहेको श्रेष्ठ बताउँछन् । २०५१ सालको मध्यावधि निर्वाचन पछि कुनै पनि दलको बहुमत नआएको समयमा पनि सरकार यस्तै अस्थिर जस्तो देखिएको थियो । 

अर्का राजनीतिक विश्लेषक शंकर तिवारी भने सत्ता गठबन्धनबीच नै अविश्वास बढिरहेकाले सरकार ढल्छ कि जस्तो लाग्ने अवस्था सिर्जना भएको बताउँछन् ।

‘सैद्धान्तिकरूपमा हेर्दा जति धेरै जनविश्वास त्यतिधेरै जनदबाब हुन्छ । तर, अहिले सरकार फरक अवस्थाको हो । काँग्रेसले सरकारलाई विश्वासको मत दिनु भनेको प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको बाहुपासमा नपरून भन्नका लागि मात्रै हो । सत्ता गठबन्धनका दलहरुले अनावश्यक काम गराउन खोज्दा प्रधानमन्त्रीले अस्वीकार गर्न थालेपछि सरकार संकटमा परेको जस्तो देखिएको हो’, तिवारीले भने । 

तिवारी भने प्रधानमन्त्रीले सरकार पुनर्गठन गर्ने सम्भावना देख्छन् । अहिले सत्ता गठबन्धनमा रहेका दलहरु आफ्नो निहित स्वार्थ पूरा नभएपछि सरकारबाट बाहिरिने र प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस, एकीकृत समाजवादीलगायतका दललाई समावेश गरेर सरकार पुनर्गठन गर्न सक्ने  तिवारीको विश्लेषण छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्