रास्वपालाई एमालेमा ल्याउने ओलीको प्रयास, रविलाई उपाध्यक्ष दिन सहमत

तर, रविले मागे महासचिव
बिहीबार, माघ १९, २०७९

काठमाडौँ– नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच पार्टी एकीकरणको तयारी भएको छ ।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलगत्तै पार्टी एकीकरणको तयारी भएको हो ।

नयाँ सरकार गठनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको पहलसँगै दुवै पार्टी नजिकिएका थिए । एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रवि लामिछाने राष्ट्रपति निर्वाचनलगत्तै पार्टी एकीकरणका लागि सहमत भएको एमाले निकट स्रोतले जानकारी दिएको छ ।

एमालेमा ओलीको र रास्वपामा पनि सभापति लामिछानेको एकल निर्णय चल्ने भएका कारण चाहेको समयमा चाहेजसरी पार्टी एकीकरण हुन सक्ने स्रोतको भनाइ छ । 

सरकारको भागबन्डामा एमाले र रास्वपाले बेग्लै पार्टीका रूपमा भाग लिने र राष्ट्रपति निर्वाचनलगत्तै पार्टी एकीकरण गरेर नेकपा एमालेलाई संसद्को सबैभन्दा ठुलो पार्टी बनाउन सकिने अवस्था भएका कारण ओलीले नै पार्टी एकीकरणको प्रस्ताव गरेका हुन् । ओलीको प्रस्तावमा लामिछाने सहमत भएका छन् । 

‘सत्ता गठबन्धनबाट एमालेले राष्ट्रपति पाउने सहमति भएकै छ । सभामुख एमालेले र उपसभामुख रास्वपाले पाइसकेको छ । अब एमाले र रास्वपा एकीकरण हुँदा राष्ट्रपति, सभामुख तथा उपसभामुख एमालैकै हुन्छ’, ओली र लामिछानेबीचको संवादबारे जानकार स्रोतले भन्यो ।

सभामुख र उपसभामुख फरक पार्टी र लिङ्गको हुनुपर्ने कानुनी व्यवस्था छ । यद्यपि, यसअघि एउटै पार्टीको सभामुख र उपसभामुख भएको नजिर पनि छ ।

२०७४ को निर्वाचनपछि नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका थिए भने एमालेकी नेता डा. शिवमाया तुम्बाहाङ्फे उपसभामुख भएकी थिइन् ।

२०७५ जेठमा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बन्यो । त्यसबेला, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एउटा पद छाड्न भनेको थियो । तर, नेकपाले दुवै पद आफैसँग राख्यो । 

तत्कालीन सभामुख महरामाथि नैतिकताको प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए । महराको राजीनामापछि तत्कालीन नेकपाकै तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बने । उपसभामुख तुम्बाहाङ्फेलाई भने राजीनामा गराएर कानुनमन्त्री बनाइएको थियो ।

रविलाई गृहमन्त्री बनाउँदा एकतामा सजिलो

अहिले लामिछानेले आफू गृहमन्त्री हुनैपर्ने दाबी गरेका छन् । पासपोर्ट दुरुपयोग मुद्दाको अनुसन्धान प्रभावित गर्नका लागि पनि उनले गृह मन्त्रालयको कमान्ड चाहेका छन् । 

ओली पनि लामिछानेलाई गृहमन्त्री बनाउन सकरात्मक छन् । ओली सकरात्मक हुनुको एउटै कारण हो– उनलाई अहिले गृहमन्त्री बनाइदिन सहयोग गर्दा पार्टी एकीकरणमा सहयोग पुग्छ ।

लामिछानेलाई गृहमन्त्री बनाउन सहयोग गर्दा उनी आफूप्रति अनुगृहित हुने र पार्टी एकीकरणमा पनि सहजता थपिने विश्लेषण ओलीको रहेको स्रोत बताउँछ । 

अर्कातर्फ, रविलाई गृहमन्त्री बनाउँदा यही सरकार रहिरहेको अवस्थामा पनि पार्टी एकतापछि गृह मन्त्रालय एमालेको भागमा पर्छ । 

रविलाई उपाध्यक्ष दिन एमाले तयार

पार्टी एकीकरणपछि रास्वपाका सभापति लामिछानेलाई एमालेको उपाध्यक्ष बनाउन ओली तयार भएका छन् । रविको सांसद पद गुमेपछि रास्वपामा १९ जना सांसद छन् । 

रास्वपासँग एकीकृत हुँदा संसद्मा एमालेको सांसद संख्या ९७ पुग्छ । त्यसो हुँदा एमाले संसद्को सबैभन्दा ठुलो दल बन्छ । त्यसका लागि ओलीले लामिछानेलाई उपाध्यक्ष दिन तयार भएको स्रोतको दाबी छ । 

तर, लामिछानेले भने एकीकरणपछिको एमालेमा महासचिव पद मागिरहेको स्रोतले बतायो । 

‘रविजीले महासचिव पद माग्नुभएको रहेछ । हाम्रा अध्यक्ष (ओली)ले उपाध्यक्ष बनाउन सकिने भन्नुभएको छ’, एमाले स्रोतले भन्यो ।

संसद्मा ठुलो दल भएपछि ओली आफैँ प्रधानमन्त्री बन्ने प्रयासमा लाग्नेछन् । 

ओली प्रधानमन्त्री बन्न सफल भए राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एमालेकै हुने भएकाले ओलीले त्यसको प्रयास गर्ने एमालेका नेताहरू बताउँछन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार