देउवाको चाल : गुटरहित कांग्रेस बनाउँदै कि सर्वेसर्वा बन्दै ?

नाम मात्रैको पार्टी संयन्त्र, देउवाका अघि निरीह
बिहीबार, माघ १९, २०७९

काठमाडौँ– औपचारिक गतिविधि हेर्ने हो भने नेपाली कांग्रेस अहिले शून्यको अवस्थामा छ । 

४ पटकसम्म केन्द्रीय समितिको बैठक सारेका देउवालाई पार्टीमा कसैले पनि प्रश्न गरिरहेको छैन । कांग्रेसभित्रको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेका नेतादेखि कांग्रेसलाई परिवर्तन गर्नुपर्छ भन्ने युवा नेता सबै अहिले चुपचाप छन् ।

केन्द्रीय कार्यसमिति बैठक सार्ने सभापति देउवाको एकल निर्णयमाथि पदाधिकारीसहित केन्द्रीय सदस्यसम्म नबोलेपछि कांग्रेसभित्र गतिविधिशून्यको अवस्था र मौनता देखिएको हो ।

विधिको शासनका लागि भन्दै चर्को आवाज उठाउने युवा नेताहरू पनि सभापति देउवाले ४ पटकसम्म केन्द्रीय समितिको बैठक सार्दा ‘तैँ चुप मै चुप’ रहेपछि कांग्रेस गुटरहित पार्टी बनेको हो ? भन्ने प्रश्न खडा भएको छ ।

वा शक्तिसम्पन्न देउवाका अगाडि अरू सबै निरीह बनेका हुन् ? कांग्रेसभित्रको प्रतिपक्ष भनेर चिनिने शेखर कोइराला समूह पनि यतिबेला मौन देखिनुले यस्तै संकेत गरेको छ ।

यसरी देउवाले बैठक सारिरहँदा पनि नेता÷कार्यकता नबोल्नुले राजनीति वृत्तमा कतै नयाँ समीकरणको तयारी त होइन ? भन्ने पनि आशंका उब्जिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।

सरकार गठनका बेला तत्कालीन गठबन्धनबाट निस्किएर नेकपा एमालेको फेर समातेर प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएदेखि नै देउवाले केही रणनीतिक काम गरिरहेको अनुमान गरिएको थियो ।

महाधिवेशनदेखि नै सक्रिय देउवा

कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन सभापति देउवा र इतर पक्षको नेतृत्व गरेका रामचन्द्र पौडेलबीच एकाएक सहमति भयो । उनीहरू एक ठाउँमा आएपछि पौडेलको समूह विभाजित भयो । शेखर कोइराला र प्रकाशमान सिंहले पनि अलग–अलग उम्मेदवारी दिए । अन्ततः १४औँ महाधिवेशनमा रामचन्द्र पौडेलसहित सभापति पदका अन्य उम्मेदवारले पनि देउवालाई नै सहयोग गरे । 

सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले अप्रत्यासित रूपमा देउवालाई सहयोग गरेपछि उनी पुनः सभापतिमा निर्वाचित भएका हुन् । देउवाले सिंहकी पत्नी सिर्जनालाई महानगरको उम्मेदवार र सिंहलाई प्रतिनिधिसभाको टिकट दिएर गुन तिरे । 

देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । पौडेलको गुन तिर्ने अवस्था आएका बेला प्रचण्डले धोका दिएपछि देउवा तनावमा छन् ।

पछिल्लो समय देउवाले कुनै समय आफ्नो विपक्षमा रहेका नेताहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, सुजाता कोइरालालगायत प्रभावशाली नेताहरूलाई आफूसँगै राखेर शक्ति एकीकृत गरिरहेका छन् ।

शक्ति एकीकृत गर्ने क्रममा १५औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने आश्वासनसहित शेखर कोइरालालाई पनि चुप लगाउने प्रयास भइरहेको देखिन्छ । 

‘स्वार्थपूर्ण अवसरको खोजी’

जीवनको उत्तराद्र्धमा देउवाले शक्ति केन्द्रित गर्नुलाई अस्वाभाविक मान्छन्– राजनीतिक विश्लेषक कृष्ण खनाल । 

‘राजनीतिबाट सम्मानजनक बर्हिगमनका लागि काम गर्नुपर्ने हो । तर देउवाले त्यसो गरेको देखिँदैन । अहिले पनि सत्ता र शक्तिमा आशक्त भएको सहजै देख्न सकिन्छ, अहिले शक्ति केन्द्रित भन्दा पनि अर्को स्वार्थपूर्ण अवसरको तयारी हो जस्तो देखिन्छ,’ उनले भने ।

राजनीतिमा आफ्नो नेतृत्वमा भइरहेका कामहरू असफल भएपछि सम्मानजनक नेतृत्व हस्तारण गरिनु अनुशासनका दृष्टिकोणले राम्रो हुने खनालको तर्क छ ।

तर, देउवा त्यो मनस्थितिमा देखिँदैनन् । हालसम्म पटकपटक देउवाले गल्ती गरेको पार्टीभित्रबाट नै आवाज उठ्ने गरेको छ । 

देउवाले नेता तथा कार्यकर्ताको विरोधका बाबजुद पनि तत्कालीन गठबन्धनलाई स्थानीय तह र संसदीय निर्वाचसम्म कायम राखे ।

निर्वाचनमा गठबन्धन गरेर भन्दा पनि नगरी जाँदा बढी सिट आउँछ भन्ने नेता–कार्यकताको अपेक्षाविपरीत देउवाकै जोडबलमा गठबन्धन गरिएको थियो ।

गठबन्धन गरेर निर्वाचनमा गएपछि ८९ सिटसहित नेपाली कांग्रेस पहिलो पार्टी बन्यो । तर, नेता तथा कार्यकता त्यो नतिजामा सन्तुष्ट थिएनन् । 

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पार्टी नेतृत्व अस्वाभाविक रूपमा अगाडि बढेका कारण अहिलेको नतिजा आएको बताउँछन् ।

उनी गठबन्धन गरेर निर्वाचनमा गए पनि सरकार गठनका बेला गठबन्धन जोगाउन नसक्नुलाई देउवाको अर्को गल्तीका रूपमा लिन्छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सभापति देउवाको कार्यशैलीले पार्टी अप्ठ्यारोमा परेको बताउँछन् । सभापतिको कार्यशैलीका कारण नेपाली कांग्रेस विगत र वर्तमानमा फरक देखिएको उनको तर्क छ । 

‘राजनीतिक स्वार्थका लागि देउवाको अभ्यास चलिरहेको छ, हिजोदेखि नै देउवाले आफू शक्ति र सत्तामा जानका लागि मात्र सोच्ने गरिरहेको पाइन्छ । अहिले देउवाले शक्ति एकीकृत गरेको भन्न मिल्दैन, कांग्रेसभित्र कम्युनिस्टलाई अगाडि बढ्न दिनुहुन्न भन्ने विचार हाबी भएको छ । त्यसकारण उनमा शक्ति केन्द्रित भएको हो कि भन्ने परेको होला,’ आचार्यले भने । 

नेपाली कांग्रेसभित्र सभापति ‘अनच्यालेन्ज’ भएर अगाडि आइरहेको भन्दै आचार्यले उनले जति पटक पनि बैठकलाई सार्न पाउनु, कसैले प्रश्न नगर्नुले अरू नेताहरू ‘नाकाम’ देखिएको बताए ।

पछिल्लो समय ‘कांग्रेस नै शेरबहादुर र शेरबहादुर नै कांग्रेस’ जस्तो देखिएको आचार्य बताउँछन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्