डेढ वर्षमा भद्रपुर–सलकपुर सडक कालोपत्र ६ प्रतिशत वित्तीय प्रगति

बिहीबार, माघ १९, २०७९

काठमाडौँ – झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडकको कालोपत्र गर्ने कार्य डेढ वर्षको अवधिमा ३ किलोमिटर मात्र भएको छ । 

कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौ २३ गते २ वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको सडकको कालोपत्र गर्ने कार्य हालसम्म ३.६ सय किलोमिटर भएको हो । पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको २६ करोड ६९ लाख ३३ हजार ८२८ भ्याटसहितको बजेटमा भद्रपुर–फडानी पुल–इँटाभट्टा–सलकपुर सडक ठेक्का लागेको जानकारी दिए। 

उनले सडकको हालसम्मको वित्तीय प्रगति भने छ प्रतिशतमात्र भएको बताए। निन्दा पुलदेखि इँटाभट्टासम्म १०.३६० किलोमिटर, इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म १०. ४३० किलोमिटर कालोपत्र गर्ने योजनासहित सडकको ठेक्का लागेको उनको भनाइ छ । 

कालोपत्र भइरहेको सडकको जम्मा चौडाइ ५.५ मिटर, मान्छे हिँड्ने बाटोको चौडाइ ०.७५ मिटर दुवैतर्फ गरी सडक जम्मा चौडाइ १० मिटरको रहेको उनले बताए। मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न सबै तह र तप्काबाट ठेकेदारलाई खबरदारी गर्नुपर्ने बताइन्। उनले सो सडक निर्माणसँगै इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायतका क्षेत्रमा पुग्न सजिलो हुने र दूरीसमेत छोटो हुने बताइन्

उनले सो सडकको माध्यमबाट इलामका विभिन्न क्षेत्रका जनताले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणमा सहज हुने, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत पछि परेका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दाको सहज पहुँच पुग्ने धारणा व्यक्त गरिन् ।

जिल्लामा आधा दर्जन बढी सडक प्रदेश सरकारको लगानीमा कालोपत्र गर्ने कार्य भइरहे तापनि विभिन्न कारण देखाएर ठेक्का लिएका कम्पनीले निर्माणमा ढिलासुस्ती गरिरहेका छन् ।  

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०६:४६
प्रतिक्रिया दिनुहोस्