कांग्रेसलाई विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ

सर्वोच्चले भन्यो– विपक्षी दलको मान्यता दिने संसद्को आन्तरिक विषय, निवेदकलाई हकदैया छैन्
बुधबार, माघ १८, २०७९

काठमाडौँ— नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दल तथा सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिकाको मान्यता दिन नहुने माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ । 

अधिवक्ता विमल पोखरेलले पेश गरेकाे रिट बुधबार अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरेका हुन् ।

अधिवक्ता पोखरेलले रिटमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गरेका छन् । उनले सभापति देउवालाई विपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन,  सभामुखलाई विपक्षी दलको नेता तोक्न दिनुपर्ने परमादेश समेत माग  गरेका थिए ।

तर, विपक्षी दलको मान्यता दिने भन्ने विषय संसदको आन्तरिक कारबाहीको विषय भएको र त्यस्तो विषयमा नेपालको संविधानको धारा १०३ (५) बमोजिम कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने भन्दै अदालत प्रशासनले दरपीठ गरेको हो । अदालतले निवेदकलाई निवेदन गर्ने हकदैयासमेत नरहेको दरपीठ आदेशमा उल्लेख छ ।

‘संघीय संसद्का पदाधिकारी तथा ससदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को दफा २ (ङ)मा विपक्षी दलको नेता सम्बन्धमा व्यवस्था भएको, उल्लिखित व्यवस्था र प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार संसद्‌मा कुन दललाई विपक्षी दलको मान्यता दिने भन्ने विषय संसदको आन्तरिक कारबाहीको विषय भएको र त्यस्तो विषयमा नेपालको संविधानको धारा १०३ (५) बमोजिम कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने र निवेदकलाई निवेदन गर्ने हकदैयासमेत रहेको नदेखिँदा यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत लिई आएको प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन,’ दरपीठ आदेशमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्