मधेस प्रदेशः नीति तथा योजना आयोगका उपाध्यक्ष डा झाको राजीनामा

मंगलबार, माघ १७, २०७९

धनुषा– मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।

प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् ।

विसं २०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त हुनुभएको झा आफूले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको बताए ।

यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाएर डा भोगेन्द्र झालाई ल्याइएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि उनले अवकाश लिएका थिए ।

प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषय क्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्‍याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २१:५९
प्रतिक्रिया दिनुहोस्