हिरासतबाट थुनुवा भागेपछि प्रहरी निलम्बनमा

मंगलबार, माघ १७, २०७९

जनकपुरधाम–थुनुवा हिरासतबाट फरार भएपछि ३ जना प्रहरी निलम्बनमा परेका छन् । 

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएपछि ३ जना प्रहरीलाई निलम्बन गरिएको हो। 

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित ३ जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । 

हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर भएपनि घटनामा डिउटीको समय प्रहरीको लापरबाही देखिएकोले निलम्बन गरिएको प्रहरीले जनाएको छ । थुनुवा फरार घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्