गृह मन्त्रालय स्वतः हाम्रो हो, अरू दलको कुनै अधिकार छैन : रास्वपा

आइतबार, माघ १५, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार अरु दलहरूको नभएको बताएकाे छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएका हुन् ।

महामन्त्री ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीमा समस्या आएको बताउँदै अन्य दलहरूले समस्याको रुपमा लिन जरुरी नभएको बताए । 

‘पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ । परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन । यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ’ उनले भने ।

‘गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ’, उनले भने । 

अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्रीको बन्ने भन्ने विषयमा टुंगो लगाउने महामन्त्री ढकालले बताएका छन् ।

लामिछानेको सभापतित्वमा बसेको दोस्रो बैठकले प्रदेशअन्तर्गतको सङ्गठन विस्तारको कार्यतालिका पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा सङ्गठन विस्तारका काम माघ २१ गतेदेखि सञ्चालन गरिने उनले बताए ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्