प्रचण्ड–ओली : जति भेट्दै, उति टाढिँदै

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ– पुस १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरूको उपस्थितिमा सरकार गठनको सहमति बन्यो । 

सरकार बनाउने निर्णय गरेर ओली र प्रचण्ड बैठक कक्षबाट बार्दलीमा निस्किए र हात हल्लाएर अभिवादन गरे । त्यसको अर्थ थियो– हामी फेरि मिल्यौँ । अब एक भयौँ । 

उनीहरूले हात हल्लाउँदै गर्दा ओली निवासको प्रांगणमा उपस्थित अनेरास्ववियुका केही कार्यकर्ताले नारा लगाए– नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद । उनीहरूको आशय थियो– एमाले र माओवादी फेरि मिल्नुपर्छ । नेकपा पुनस्र्थापित हुनुपर्छ ।

एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बने । संसद्को दोस्रो दल भएर सत्ता विमुख हुने अवस्थामा रहेको एमाले माओवादी केन्द्रसँगको सहमति पनि ‘विजेता’ बनेको थियो । 

माओवादी केन्द्रलाई प्रधानमन्त्री दिएर राष्ट्रपति र सभामुख एमालेले लिने सहमति बनेको सूचना बाहिरियो । माओवादी केन्द्रले पनि त्यसमा खासै प्रतिवाद गरेन ।

प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्दा पनि एमालेले धेरै प्रदेशको नेतृत्व पायो । 

तर, पुस २६ मा प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि भने ओली–प्रचण्डबीच विश्वासको संकट देखिएको छ । 

पछिल्ला दिनमा ओली र प्रचण्डबीच जति भेटवार्ता हुन्छ, उति नै उनीहरू झनझन टाढा पुगिरहेको उनीहरू निकट नेताहरू बताउँछन् ।

सुरुमा प्रचण्डले जसरी हुन्छ, प्रधानमन्त्री बन्ने रणनीति लिएका थिए । प्रधानमन्त्री बनाइदिने दलको मागमा उनलै खासै रिजर्भेसन देखाएनन् । 

जब प्रधानमन्त्री बने र विश्वासको मत लिए त्यसपछि भने प्रचण्ड रणनीति फेरिन थाल्यो । 

संसद्बाट ‘प्रचण्ड विश्वास’ पाएपछि उनले एमालेमा मात्रै शक्ति केन्द्रित गर्न नदिने रणनीति बनाएका छन् । 

एमाले अर्थात केपी ओलीलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्नका लागि प्रचण्डले नेपाली कांग्रेससँग पनि विश्वासको मत मागे । एमालेलाई बिच्क्याउन सकेको अवस्थामा सत्तारोहण सजिलो देखेका कांग्रेस सभापति देउवालाई पनि प्रचण्डको प्रस्ताव सही लाग्यो । कांग्रेसले विश्वासको मत दियो । 

कांग्रेसले विश्वासको मत दिने निर्णय गर्नासाथ एमालेमा संशय उत्पन्न भएको थियो । त्यसको अभिव्यक्ति एमाले अध्यक्ष ओलीले संसद् बैठकमै गरे । 

‘माछा पर्ला कि भनेर खोलामा ढोक्सा थापेको हो भने त्यो ढोक्सा रित्तै हुनेछ । कुनै माछा त्यो ढोक्सातिर बग्ने छैन’, पुस २६ को संसद् बैठकमा केपी ओलीले भनेका थिए ।

कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राखेको आरोप लगाइरहेको छ । 

प्रधानमन्त्री प्रचण्ड पनि आफू एमाले अध्यक्ष ओलीको कब्जामा पर्न सक्ने भयमा रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् । 

माओवादी केन्द्रका एक नेता भन्छन्, ‘सरकारमा प्रधानमन्त्री अहिल्यै एक्लो छन् । न त प्रभावशाली मन्त्रालयमा माओवादीको उपस्थिति छ न त प्रधानमन्त्रीले चाहेको निर्णय नै गराउन सक्छन् । ठुला सबै संवैधानिक पद पनि एमालेलाई दिनु भनेको ओलीलाई थप शक्तिशाली बनाउनु हो । यसबारे पार्टीले विचार गर्छ ।’

सरकार बनाउने समयमा माओवादी केन्द्रले प्रधानमन्त्री र सभामुख पद आधाआधा कार्यकालको सहमति भएको छ । तर, प्रचण्ड भने आफूले प्रधानमन्त्री छाडेपछि एमालेले सभामुख छाड्छ भन्नेमा विश्वस्त हुन सकिरहेका छैनन् । आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एमालेकै हुने हुँदा माओवादी सत्तामा रहनु र नरहनुको अर्थ नरहने बुझाइमा प्रचण्ड पुगेका छन् । 

ओली र प्रचण्डको पछिल्ला भेटवार्तामा यिनै विषयले सघनताका साथ छलफलमा प्राथमिकता पाइरहेको एमाले र माओवादी केन्द्र दुवैतर्फका नेताहरू स्वीकार्छन् । 

ओली र प्रचण्ड निष्कर्षमा पुग्न नसकेकै कारण राष्ट्रपतिको निर्वाचनको मिति प्रभावित भइरहेको छ । 

पुस १० मा एउटा सन्दर्भमा सहमति भए पनि पुस २६ मा आउँदा राजनीतिक परिस्थिति फेरिएको माओवादी केन्द्रका नेताहरू बताउँछन् । 

‘कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको भए छुट्टै कुरा हुन्थ्यो । अहिले त प्रधानमन्त्रीलाई कांग्रेसको पनि साथ छ । राष्ट्रपति निर्वाचनमा कांग्रेसको पनि सहयोग लिएर जानुपर्छ भन्ने प्रधानमन्त्री हुनुहुन्छ’, माओवादी केन्द्रका ती नेताले भने । 

एमाले अध्यक्ष ओली आफ्नो विश्वासपात्रलाई शीतल निवास पु¥याउन चाहन्छन् । २०७८ को असार अन्तिममा सत्ताबाट शून्यमा ओर्लिएको एमालेले आफ्नो पक्षको राष्ट्रपति भएकै कारण शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विभिन्न राजनीतिक गौँडामा अप्ठ्यारो पार्न सफल भएको थियो । 

सरकारले चुनावी एजेन्डा बनाउने गरी ल्याएको नागरिक ऐन एमालेकै चाहनामा राष्ट्रपतिले दुई पटक रोकेको आरोप लागेको थियो । पछिल्लो पटक रेशम चौधरीलाई जेलमुक्त गर्ने गरी ल्याएको अध्यादेश पनि राष्ट्रपति कार्यालयले फ्रिज गराइदियो । 

अर्थात सत्तामा नरहेको एमालेले राष्ट्रपतिमार्फत शक्ति अभ्यास गरेको थियो । एमाले अध्यक्ष ओली फेरि पनि शीतल निवासमा त्यस्तै व्यक्तिको इन्ट्री चाहन्छन् । 

प्रधानमन्त्री भने आफूलाई अप्ठ्यारो पार्ने व्यक्तिलाई शीतल निवास जाने बाटो छेक्ने प्रयास गरिरहेका छन् । यही कारणले ओली र प्रचण्डको सम्बन्ध पछिल्ला दिनमा झनझन टाढा पुगिरहेको आभास भएको माओवादी केन्द्रका एक प्रभावशाली नेताले बताए । 

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रचण्ड दुई पटक ओली निवास बालकोट पुगे । ती दुई बैठकबाट सभामुख र उपसभामुख निर्वाचनको वातावरण बन्यो । 

त्यसपछि, प्रचण्डलाई भेट्न केपी ओली दुई पटक प्रधानमन्त्री निवास बालुवाटार पुगे । ती छलफल त्यति फलदायी नभएको संकेत एमाले नेताहरूले गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्