स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्युट उद्घाटन

बिहीबार, माघ १२, २०७९

चितवन– चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेले इन्स्टिच्युट उद्घाटन गरेका हुन् ।

कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा  इन्स्टिच्युट  सञ्चालनमा ल्याइएको हो । सो अवसरमा बोल्दै सचिव डा पोखरेलले क्यान्सर रोगको उपचारमा नेपाल सरकारले प्रभावकारी सेवा दिन नसकेको समयमा इन्स्टिच्युट स्थापना हुनुले उपचारमा देखिएका समस्या समाधानका लागि सहयोग पुग्ने बताए ।

उनले भने, ‘नेपाल सरकारको कार्यक्रम लागू भएको यस इन्स्टिच्युटमा विपन्न नागरिकले समेत सेवा पाउनेछन् ।’ सरकारका कार्यक्रम लागू गर्दै रोग निवारणमा महत्वपूर्ण भूमिका खेल्नसमेत चितवन मेडिकल कलेज सफल भएको उनको भनाइ थियो । क्यान्सर रोगको उपचारका लागि बिरामी बाहिर जानु नपर्ने गरी सेवा दिनसमेत उनले आग्रह गरे ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाका रूपमा इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।  अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरीशचन्द्र पोखरेलले रेडियसनसँगै ब्राकिथेरापी, स्पेक्ट सिटी स्क्यानलगायत क्यान्सर उपचारमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिएको बताए ।

उनले क्यान्सर रोग उपचारका लागि महिनौँ पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा समेत समस्या खडा गर्नसक्ने भएकाले क्यान्सर पहिचान हुने वित्तिकै उपचार सुुरु गर्ने बताए । 

१०० शय्याको सो इन्स्टिच्युट ६ तल्ले छ । अस्पताल परिसरमा रहेको सो इन्स्टिच्युटमा भारत, अमेरिका, चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरूले उपचार गर्नेछन् । 

यस कलेजले सरकारले तोकेका ८ वटा विपन्नका कार्यक्रम चलाउने गरेको, मन्त्रालयको मापदण्ड पूरा गरी क्यान्सर इन्स्टिच्युट निर्माण गरेको न्यौपानेले बताए । उनका अनुसार अस्पतालमा नेपाल ‘ए’ वर्गको प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ । 

उच्चस्तरीय प्रविधिको जडान गरी इन्स्टिच्युट सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘उपचार नपाएर विदेश जानुपर्ने क्यान्सरका बिरामीको समस्या अब समाधान हुनेछ ।’ उनले सरकारले पेट स्क्यान मेसिन खरिद गर्नुपर्ने र सरकारले नगरे सोको जिम्मा निजी क्षेत्रलाई दिनसमेत आग्रह गरे ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवाली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चिकित्सा शिक्षा आयोगकी निर्देशक डा. आरती शाह, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनाल, वीर अस्पतालका डा. कञ्चन अधिकारी, भारतको राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरका निर्देशक डा. सुदिर रावलले क्यान्सर रोगको उपचारमा परिवर्तन आएको बताउँदै निजी क्षेत्रबाट क्यान्सर अस्पताल बन्नु ठुलो उपलब्धि भएको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका– १० का वडाध्यक्ष परमेश्वर खनाल, चितवन मेडिकल कलेजका अस्पताल निर्देशक डा. दयाराम लम्साल, इन्स्टिच्युटका प्रमुख डा. सुवास ठाकुर लगायतले बोलेका थिए ।

इन्स्टिच्युटमा क्यान्सरका बहिरंग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायत सेवा सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार