उत्तरी गोरखामा भारी हिमपात

बुधबार, माघ ११, २०७९

गोरखा । उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए ।

‘मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ’, उनले भने, ‘अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।’

उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो ।

हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको उनको भनाइ छ । ‘पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ’, स्थानीयवासी दोर्जेले भने, ‘केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन प¥यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ ।’

अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताए । ‘यो वर्ष ढिलो गरि हिमपात भयो’, उनले भने, ‘हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् ।’

हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका उनले जानकारी दिए । ‘हिमपात भएपछि सुकेका घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ’, दोर्जेले भने, ‘वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ ।’

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्