कांग्रेस सधैं आफू मात्रै सरकारमा हुन चाहन्छ : केपी ओली

बुधबार, माघ ११, २०७९

काठमाडाै‌- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफू मात्रै सरकारमा हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको टिप्पणी गरेका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै ओलीले नेपाली काँग्रेसले आफू सरकारमा भए भइहाल्यो नि भन्ने सुत्र लिएर हिड्ने गरेको बताए । 

काँग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास आफ्नो विकास मात्रै भएको ओलीको भनाई छ ।

‘नेपाली काँग्रेसको एउटा मात्रै सुत्र छ–आफू सरकारमा हुनुपर्छ भइगो नि । त्यही हो लोकतन्त्र । त्यही हो विकास । यदि देशमा सरकार काँग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भए पनि केही छैन । विकास हुनुपर्नेको भएकै छ । यस्तोमा बोल्न नसक्ने अभिशप्त एउटा जमात हुन्छ’, ओलीले भने । 

अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको बताए । 

अध्यक्ष ओलीले केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरुको राजनीति टिकाउ नहुने दावी गरे । मौसमी खालका कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायीरुपमा रहन नसक्ने ओलीको भनाई  थियो ।

गत चुनावबाट राष्ट्रिय राजनीतिमा आएका नयाँ दलप्रति लक्षित गर्दै ओलीले स्पष्ट गन्तव्य नै नभएका पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको बताए । 

‘केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएका छन् ।  गन्तव्य के हो त थाहा हुँदैन । समाजमा असन्तुष्टि बढयो । त्यसलाई उपयोग गरेर जाने । कोही एउटा मौसमी खालका कुराहरुबाट ह्वात्त आउने । यस्ता कुराहरु राजनीतिमा देखा पर्छन । तर ती स्थायी हुँदैनन्’, ओलीले भने ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्