आत्मदाह घटनापछि प्रहरीले भन्यो–पेट्रोलियम पदार्थको खुला बिक्रीवितरण नगर्नू

बुधबार, माघ ११, २०७९
बुधबार, माघ ११, २०७९

काठमाडाैँ– नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले गएराति सूचना जारी गरी पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोल पम्पबाट खुला रूपमा बोतल, जर्किनलगायत भाँडामा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोल पम्प सञ्चालकलाई आग्रह गरेका छन् ।

पेट्रोल पम्पबाट सीधै सवारी साधनमा भर्नेबाहेक खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो एक युवाले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो ।

सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०९:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष