दक्षिण एसिया

३५७० किलोमिटर हिँडेका राहुल बन्लान् त प्रधानमन्त्री

रथयात्रापछि उदाएको भाजपालाई पदयात्राबाट चुनौती
मंगलबार, माघ १०, २०७९
मंगलबार, माघ १०, २०७९

‘तपाईँ आँप काटेर खानुहुन्छ कि चुुसेर ?’ भारतीय चलचित्रका सुपरस्टार अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिँदा सोधेको प्रश्न हो यो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ मा प्रधानमन्त्री भएयता कुनै पनि स्वतन्त्र पत्रकारलाई अन्तर्वार्ता दिएका छैनन् । पछिल्लो पटक पत्रकार करण थापरलाई अन्तर्वार्ता दिँदै बीचमै उठेका मोदी त्यसपछि आफूले नचाहेका प्रश्न सोध्न सक्ने पत्रकारको सामुन्ने अन्तर्वार्ताका लागि बसेका छैनन् ।

छानिएका केही पत्रकार वा यस्तै कुनै सुपरस्टारलाई दिएको अन्तर्वार्तामा पनि अन्तर्वार्ताकारका प्रश्न हुँदैनन्, मोदीले दिन चाहेका जबाफहरूमा पूर्वनिर्धारित प्रश्नहरू हुन्छन् ।

हरेक अन्तर्वार्तामा मोदीलाई निकै पिँधको तहबाट आएको व्यक्ति देशको प्रधानमन्त्री पदमा पुगेको रूपमा चित्रण गर्न खोजिएको हुन्छ । मोदी कुनै विशेष होइनन्, आमजनता जस्तै हुन् भन्ने देखाउनमा नै अन्तर्वार्ता केन्द्रित हुन्छन् । त्यसैको उदाहरण हो अक्षय कुमारको आँपवाला अन्तर्वार्ता ।

कुनै बेला भारतीय संसद्मा २ सिट मात्र भएको भारतीय जनता पार्टी अहिले संसद्मा झन्डै दुई तिहाइ बहुमतका साथ उपस्थित छ । तर पनि भारतका केही यस्ता प्रान्त छन्, जहाँ भाजपाले आफ्नो उपस्थिति देखाउन सकेको छैन ।

यसको उल्टो भारतीय राष्ट्रिय कंग्रेस सम्पूर्ण भारतभरि उपस्थित पार्टी हो । पछिल्लो समय आममतदातामा पकड कमजोर रहे पनि पार्टीले साधारण उपस्थिति भने गुमाइसकेको छैन । त्यसैले यदि भारतमा लगातार ‘राज’ गर्ने र भारतभरि नै आफ्नो उपस्थिति कायम गर्ने भाजपाको सपना पूरा गर्नमा भने कंग्रेस नै तगारोका रूपमा छ ।

त्यसैले भाजपा र ‘मोदीले कंग्रेस मुक्त भारत’को नारा दिने गरेका छन् । भाजपा सम्पूर्ण देशमा कंग्रेसको विकल्प बनेर आफ्नो पकड मजबुत पार्न चाहन्छ । त्यसका लागि कंग्रेसको छवि धमिल्याउनुबाहेक अर्को उपाय भाजपाले देखेन ।

एक परिवारमा केन्द्रित कंग्रेस

भारती राष्ट्रिय कंग्रेसमा नेहरु गान्धी परिवारको ठुलो योगदान छ भन्ने कुरा नकार्न सकिँदैन । पार्टीमा अरू धेरैको योगदान हुँदा पनि नेहरु गान्धी परिवारले सधैँ पार्टीमा महत्वपूर्ण भूमिका खेलेको छ ।

भारत स्वतन्त्रता आन्दोलन जवाहरलाल नेहरुले नेतृत्व गरेका थिए भने स्वतन्त्र भारतमा राजनीतिको जग पनि नेहरुले नै हालेका थिए । त्यसबाहेक त्यही परिवारको इन्दिरा गान्धी र राजीव गान्धीको राजनीतिक कारणले नै हत्यासम्म भएको छ । परिवारको बलिदान र योगदानकै कारण हुन सक्छ कंग्रेसका कार्यकर्ताले पनि गान्धी परिवारलाई सधैँ आफ्नो नेतृत्वका रूपमा हेरे ।

त्यसैले भाजपालाई देशका राजनीतिमा आफ्नो पकड जमाउन यही परिवारमाथि आक्रमण गर्नु थियो । राजीवको अवसानपछि उनकी धर्मपत्नी सोनिया गान्धी पार्टीमा शक्तिशाली भएपछि भारतीय जनता पार्टीले उनलाई विदेशी भन्दै आक्रमण गर्न थाल्यो ।

सोनिया गान्धी प्रधानमन्त्री बन्न सक्ने देखेर सोनिया गान्धीविरूद्ध त्यसबेलाकी भाजपाकी महिला नेतृ सुषमा स्वराजलाई मुखौटा बनाएर उत्रिएको भाजपा सोनियाले प्रधानमन्त्री पद त्याग गरेर मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउँदा पनि वास्तविक सत्ता सोनियाकै हातमा छ भनी एकोहोरो सोनियाको पछि लागिरह्यो ।

परिवारप्रतिको कंग्रेसी कार्यकताको आस्था कम गरेर कंग्रेस कमजोर पार्नु भाजपाको चाहना थियो । त्यसैले लगातार गान्धी परिवारमाथि आक्रमण जारी रह्यो । मोदीले प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल जित्दै गर्दा त अधिकांश भारतीय मूलधारका मिडियामा मोदीले पकड जमाइसकेका थिए ।

सोनियाले प्रधानमन्त्रीमा दाबी नगर्ने देखेपछि अब मोदी र उनका सहयोगीहरूका टार्गेट बने राहुल गान्धी ।

राहुल पप्पु इमेज 

राहुल गान्धीको इमेज धुमिल्याउन उनलाई एउटा राज घरानाको राजकुमारको रूपमा प्रचारित गर्न थालियो । एकातिर मोदीको इमेज आमजनताबाट उदाएका नेताको रूपमा बनाइँदै थियो भने त्यसको उल्टो राहुलको इमेज एक राजशाही घरानाको युवराजको रूपमा बनाइयो ।

आमजनतासँगै निकै टाढा सधैँ मोजमस्तीमा रहेको निकै लाडप्यारले पालिएको अभाव र असहजतालाई बुझ्नै नसक्ने नेताका रूपमा राहुलको इमेज बनाउन अब गोदी मिडिया नाम पाइसकेका मोदी भक्त मिडियाहरू खुलेरै लागे ।

राजनीति र देशको अवस्थाको केही समझ नभएको, मोजमस्तीका लागि विदेश घुम्न गइरहने इमेजसहित राहुल गान्धीलाई पप्पु नामकरण गरियो । ‘पप्पु’ नाम भारतमा लाडप्यारले पालिएको निकै कमजोर, अरूको अरनखटनमा मात्र केही गर्ने बालकलाई दिने गरिन्छ ।

भाजपाले बनाएको राहुल गान्धीको पप्पु इमेजले निकै काम गर्‍यो । कंग्रेसले राहुल गान्धीलाई नै पार्टीको नेतृत्व दिएपछि त पप्पुको हातमा पार्टी गएको आकलनमा कंग्रेस पार्टीको शाख गिर्दै गयो ।

हुँदाहुँदा कंग्रेसले देशभर चुनावमा सिट गुमाउन थाल्यो र वर्तमान अवस्थामा संसदमा कंग्रेसको मात्र ५३ सांसद छन् । ५४३ सदस्यीय भारतीय लोकसभामा विपक्षी दलको नेता बन्न चाहिने १० प्रतिशत सदस्य संख्या पनि कंग्रेसले पुर्‍याउन नसक्दा अहिले भारतीय संसद्मा कोही पनि विपक्षी दलका नेता छैनन् ।

राहुलको पप्पु इमेजले कंग्रेसको लोकप्रियता खस्किनुमा ठुलो योगदान गर्‍यो । यहाँसम्म कि कंग्रेसकै कतिपय नेता कंग्रेस छाडेर बाहिरिन थाले । तीमध्ये अधिकांश सैद्धान्तिक रूपमा कुनै साइनो नमिल्ने भारतीय जनता पार्टीमा गए ।

भाजपा उदयको रथयात्रा

सन् १९३० मा तत्कालीन भारतीय कंग्रेसका नेता मोहनदास करमचन्द गान्धीले डाँडी मार्च गरेका थिए । तत्कालीन अंग्रेज सरकारले नुन उत्खनन्मा कर लगाएपछि सोविरुद्ध विद्रोहस्वरुप महात्मा गान्धीले नुन कानुनविरुद्ध सावरमती आश्रमबाट गुजरातको डाँडीसम्म २४० किलोमिटर पैदल यात्रा गरेका थिए । भारतमा पैदल मार्च प्रेरणा त्यही डाँडी मार्चलाई मानिन्छ ।

पछिल्लो समयको चर्चित यात्रा भारतीय जनता पार्टीका तत्कालीन अध्यक्ष लालकृष्ण आडवानीको रामरथ यात्रा हो । १९९० को सेप्टेम्बरमा सुरु भएको आडवानीको यो रथयात्रा गुजरातको सोमनाथदेखि उत्तरप्रदेशको अयोध्यासम्म पुग्नुपर्ने थियो तर बिहारमा नै रथयात्रा रोकियो ।

20200805221L1674560949.jpg

बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले आडवानीको रथयात्रालाई साम्प्रदायिक भन्दै रोकेर आडवानीलाई पक्राउ गरेका थिए । 

राम मन्दिर निर्माणका लागि जनमत जुटाउन गरिएको भनिएको आडवानीको यही यात्राको बलमा नै ‘हिन्दुवादी’ कार्ड खेल्दै भारतीय जनता पार्टी सत्तामा आएको हो ।

त्यसयता समाजलाई हिन्दु र मुसलमान भनेर विभाजित गर्दै हिन्दु मतका आधारमा भारतीय जनता पार्टी लगातार सत्तामा छ ।

अरू पनि यात्रा

भारतमा राजनीतिक अभीष्टका लागि बेलाबेलामा यात्रा हुने गरेका छन् । त्यीमध्ये सबैभन्दा चर्चित यात्रा कन्याकुमारीदेखि दिल्लीसम्म पूर्वप्रधानमन्त्री चन्द्रशेखरले गरेको पैदल यात्रालाई मानिन्छ ।

chandra sekhar1674561102.jpg

सन् १९८३ मा त्यसबेलाकी शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धी लोकप्रियताको शिखरमा रहेका बेला ‘युवा तुर्क’ उपनाम पाएका समाजवादी नेता चन्द्रशेखरले ४ हजार किलोमिटरभन्दा लामो पैदल यात्रा गरेका थिए । त्यसको ७ वर्षपछि उनै चन्द्रशेखरसमेतको सहयोगमा गान्धी विपक्षी गठबन्धनबाट विश्वनाथ प्रताप (भीपी) सिंह प्रधानमन्त्री बनेका थिए ।

त्यसबाहेक पनि १९८७ मा सुनिल दत्तले गरेको मुम्बईदेखि अमृतसरसम्मको पदयात्रा, २००४ मा तेलांगनामा वाइएसआर रेड्डीको पदयात्रा, २०११ मा बंगाल चुनावका बेला ममता बनर्जीको पदयात्रा पनि भारतीय राजनीतिमा चर्चित छन् ।

रथयात्रा भने १९८२ मा आन्ध्र प्रदेशका नेता बनेका अभिनेता एनटी रामारावले तेलुगुमा पार्टी स्थापना गरेपछि गरेको चैतन्य रथयात्रा पनि चर्चित छ । त्यसै रथयात्राबाट पाएको लोकप्रियताको आधारमा पार्टी गठनको १ वर्षमा रामाराव आन्ध्र प्रदेशका मुख्यमन्त्री बने ।

राहुलको ‘भारत जोडो’ यात्रा

भारतीय जनता पार्टीले भारतलाई विभाजित गरेको भन्दै फेरि जोड्ने अभियानको रूपमा राहुल गान्धीको ‘भारत जोडो’ यात्रा सुरु गरिएको हो ।

भारतको भूगोलको दायरा बताउनुपर्दा कश्मीरदेखि कन्याकुमारीसम्म भन्ने गरिन्छ । राहुल गान्धीको यो यात्रा कश्मीरदेखि कन्याकुमारीसम्मको हुनेछ । यात्राका क्रममा राहुल लगातार १५० दिन पैदल यात्रा गरेर ३ हजार ५७० किलोमिटरको दुरी तय गर्नेछन् ।

rahul gandhi1674561176.jpg

यस क्रममा भारतका विभिन्न १२ प्रदेश र २ केन्द्र शासित क्षेत्रबाट राहुलको यात्रा जानेछ । ७ सेप्टेम्बरमा कन्याकुमारीबाट सुरु भएको यात्रा ३० जनवरीमा कश्मीरको लालचोकमा समापन हुने छ । 

३० जनवरीको विशेष महत्व छ । यसै दिन महात्मा गान्धीको हत्या भएको थियो । गान्धीको हत्या हिन्दु अतिवादी नाथुराम गोड्सेले गरेका थिए । अहिले तिनै हिन्दु अतिवादीले भारतीय समाजलाई विभाजित गरेको भन्दै राहुल गान्धीले भारत जोडो यात्रा सुरु गरेका हुन् । 

विभाजित भारतीय समाज

भर्खरै प्रकाशित बिबिसी वृत्तचित्रले भारतका प्रधानमन्त्री र गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीमाथि गुजरात दंगाको मुख्य योजनाकार भएको आरोप लगाएको छ । नरेन्द्र मोदी २००१ देखि २०१४ सम्म १३ वर्ष गुजरातको मुख्यमन्त्री भए । उनी मुख्यमन्त्री भएको १ वर्ष पनि नपुग्दै गुजरातमा बीभत्स दंगा भयो ।

गुजरातका मुस्लिम समुदायमाथि नरसंहार गरेको आरोप तत्कालीन गुजरात सरकारलाई लाग्यो । सत्तामा भएर पनि मोदीले मुस्लिम समुदायको नरसंहार रोक्न चाहेनन् । बरु त्यसै बहानामा हिन्दु अतिवादलाई मलजल गर्दै उनले सत्ता टिकाइरहने बाटो खोजे ।

तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीले त सार्वजनिक स्थानबाट नै मोदीलाई राजधर्म निभाउन सल्लाह दिएका थिए ।

तिनै मोदी गुजरात मोडलको कुरा गर्दै अनि समाजलाई हिन्दु मुसलमानमा विभक्त गर्दै २०१४ मा केन्द्रीय सत्तामा आए । २०१४ मा मोदी प्रधानमन्त्री बनेयता पूरै भारतीय समाज विभक्त भएको छ ।

अबका राहुल

राहुल गान्धीले बेलाबेलामा समाजलाई जोड्न भनिएको भारत जोडो यात्राको कुनै राजनीतिक अभीष्ट नभएको बताउने गरेका छन् । तर पनि धेरैले राहुलको यो प्रयास २०२४ मा आउने निर्वाचनको तयारीका रूपमा बुझेका छन् ।

राहुलले यात्रा सुरु गर्दै गर्दा धेरैलाई विश्वास नै थिएन कि राहुलले १५० दिन लगातार हिँडेर यो यात्रा पूरा गर्लान् भनेर । अब यात्रा समाप्त हुन १ हप्ता पनि बाँकी नरहेका बेला राहुल राजनीतिक रूपमा निकै परिपक्व भएको आकलन हुन थालेको छ ।

यात्रा सुरु गर्दाको राहुलको बोली र अहिलेको बोलीमा निकै परिवर्तन देखिन थालेको छ । देशको यत्रो लामो यात्रा गर्दा राहुलले देशको समाज बुझ्दै गएको अनुमान उनका अभिव्यक्तिहरूबाट लगाउन सकिन्छ । यात्राका क्रममा विभिन्न प्रकारका मानिससँग भेट्दा र कुरा गर्दा आपूmले धेरै सिक्ने मौका पाएको राहुल आफैँले बताउने गरेका छन् ।

यो यात्राका क्रममा राहुलले एकोहोरो भाजपा र राष्ट्रिय स्वयं सेवक संघको खरो आलोचना गरेका छन् । सँगै उनले मोदीका प्रमुख सहयोगी मानिएका व्यापारी अम्बानी र अडानीको पनि आलोचना गरेका छन् । कुनै पनि ठुला राजनीतिज्ञले देशका सबैभन्दा धनाढ्य व्यक्तिको यसरी आलोचना गरेको भारतको इतिहासमा कमै सुनिएको छ ।

rahul gandhii1674561271.jpg

राजनीतिक यात्रा नभने पनि राहुलको यो यात्रा पहिलो भने होइन । यसअघि पनि युपी निर्वाचनको बेला उनले युपीमा भट्टा परसौलदेखि अलिगढसम्मको १५० किलोमिटर पैदल यात्रा गरेका थिए ।

किसान यात्रा नाम दिइएको राहुलको त्यो यात्रा सफल हुन सकेन । त्यसैले होला– यसपटक पनि राहुल सफल हुनेमा धेरैले विश्वास गरेका थिएनन् । तर अहिले यात्रा अन्तिम अवस्थामा पुग्दा राहुलले भारतीय राजनीतिमा निकै उचाइ हासिल गरेको आकलन गरिएको छ । सँगै भाजपाले बनाएको उनको ‘पप्पु’ इमेज चिरिएको छ ।

तर राहुल गान्धीको मुख्य चुनौती यात्राको समाप्तिपछि सुरु हुनेछ । यात्राले ल्याएको तरंग राहुल र कंग्रेसले कसरी सम्हाल्न सक्छन्, यो यात्राको निरन्तरता अब कुन रूपमा कस्तो हुनेछ, त्यसैमा राहुल गान्धी अब कुनैबेला भारतको प्रधानमन्त्री बन्न सक्छन् कि सक्दैनन् भन्ने निर्क्याेल हुनेछ ।

सन् २०२४ को निर्वाचनमा कंग्रेसको सरकार बनिहाल्ने अवस्था भारतमा छैन । जसरी हुन्छ भाजपालाई कमजोर बनाउने एकमात्र उद्देश्य भारतीय राष्ट्रिय कंग्रेसको हुनेछ ।

(टिभी टुडेका प्रधानसम्पादक जोशी दक्षिण एसियाकाे राजनीतिक मामलामा पनि कलम चलाउँछन् ।)

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्