उपराष्ट्रपतिमा उपेन्द्रको बार्गेनिङः बारा–२ खाली गराएर संसद छिर्ने रणनीति

आइतबार, माघ ८, २०७९

काठमाडौं– गत निर्वाचनमा पराजित भएपछि शक्ति अभ्यासमा पछि परेका उपेन्द्र यादव संसद प्रवेशको बाटो खोजिरहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव गत मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ बाट पराजित भएका थिए । 

 

जनता समाजवादी पार्टी अहिले संसदमा छैटौं ठूलो दल हो । उक्त पार्टीले सरकारलाई समर्थन गरेको छ । हरेकजसो सरकारमा सहभागी हुँदै आएका उपेन्द्र यादव सत्ताको चास्नीबाटै बाहिरै रहनुपर्दा उनले आफ्ना पार्टीका कुनै सांसदलाई सरकारमा जान दिएका छैनन् । 


मधेस आन्दोलनको उभारबाट राष्ट्रिय राजनीतिमा शक्ति अभ्यास गरिरहेका यादव यसपटक संसद बाहिरै रहनुपर्दा ‘रन्थनिए’का छन् ।  सत्तारूढ दलहरुले शक्ति बाँडफाँटमा जसपालाई किनारामा पारेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुनासोको पोको फुकाइसकेका छन् । 


शनिबार एमाले अध्यक्ष निवास बालकोट पुगेर आफ्नो सरोकार सुनाएका यादवलाई ओलीले असन्तुष्टि सम्बोधन गर्ने भन्दै थमथमाएर पठाएका छन् । मन्त्रिपरिषद्मा रोजेको मन्त्रालय नपाएको र शक्ति बाँडफाँटमा पनि किनारामा पारिएको भन्दै यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन ‘बार्गेनिङ’ गरिरहेका छन् । 


सञ्चार माध्यममा भने यादवले सरकारमा जाने विषयलाई आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताउने गरेका छन् । तर, जसपाकै सांसदहरू भने पार्टी अध्यक्षले चुनाव हारेकै कारण अन्यलाई सरकारमा पठाउन नचाहेको टिप्पणी गरिरहेका छन् । 

तत्काल सरकारमा सहभागी भइ हाल्नुभन्दा शक्तिको बार्गेनिङ गरेर जसपाको भागमा उपराष्ट्रपति पद लिन पाए आफ्ना लागि संसद यात्राको बाटो खुल्ने यादवको बुझाई छ । 

 

जसपाले उपराष्ट्रपति पाएको खण्डमा रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने र उनको निर्वाचन क्षेत्रमा हुने उपचुनावमा आफू उम्मेदवार भएर संसद पुग्ने रणनीतिमा यादव रहेको जसपाकै एक नेताले बताए । रामसहाय यादव बारा–२ बाट निर्वाचित भएका हुन् । उनी अहिले जसपाको संसदीय दलको नेता चयन भएका छन् । 


जसपामा उम्मेदवार छनौटको बेलामा बारा–२ बाट उपेन्द्र यादवको नाम पनि सिफारिस भएको थियो । पछि, उनी सप्तरी–२ बाट उम्मेदवार भएका थिए । उनलाई जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पराजित गरे ।  


‘अध्यक्षज्यू संसदमा पुग्ने बाटोको खोजीमा हुनुहुन्छ । पार्टीको कुनै सांसदलाई व्यवस्थापन गर्न सके उपचुनावबाट संसदमा पुग्न सकिने भनेर त्यसको प्रयासमा लाग्नुभएको छ’, जसपाका ती नेताले भने । 


जसपाका प्रवक्ता मनिष सुमनले भने ओली र प्रचण्डले बालकोटमा गरेको निर्णयसँग जसपा असन्तुष्ट रहेको बताए । ‘सरकारलाई हाम्रो समर्थन छ, हामी मन्त्रिपरिषद्मा सामेल मात्र नभएका हौँ । हामीले कुनै पद मागेका छैनौँ’, उनले भने, ‘संविधानमा लेखिएको समावेशी सिद्धान्तका आधारमा शक्ति बाँडफाँट हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ 


राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायको वा लिङ्गको हुनुपर्ने र त्यसलाई ठूला दलहरुले पालना गरुँन भन्ने कुरा आफूहरुले उठाएको सुमनले बताए । अहिलेको सरकार गठनको सहमति गर्दा एमाले र माओवादी केन्द्रले उपराष्ट्रपति माओवादी केन्द्रलाई दिने सहमति गरेको छ । 


संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले प्रधानमन्त्री र उपराष्ट्रपतिमा मात्रै  चित्त बुझाएर सरकारको नेतृत्व गरेको छ । अहिले जसपाले उपराष्ट्रपतिमा दाबी गरे पनि माओवादी केन्द्रले छाड्ने सम्भावना देखिदैन ।


माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र अग्नीप्रसाद सापकोटा लगायतले उपराष्ट्रपति हुने आकांक्षा राखेका छन् । माओवादीले उपराष्ट्रपति अन्य दललाई छाड्न नसक्ने माओवादी केन्द्रका एक नेताले बताए । 


‘सरकारको नेतृत्व गर्दा नै माओवादीका लागि प्रधानमन्त्री पद शरीर बिनाको टाउको जस्तो भएको छ । उपराष्ट्रपति पनि अरुलाई छाड्दा पार्टी थप निरिह हुन्छ’, माओवादी केन्द्रका एक नेताले भने । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई उपराष्ट्रपति अन्य दललाई नछाड्न माओवादी केन्द्रभित्र दबाब बढिरहेको ती नेताले बताए । 

 

जसरी पनि संसदमा छिर्ने उपेन्द्रको दाउ 


प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट भएका जसपा अध्यक्ष यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेर परामर्श गरेका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डलाई पनि आफू संसद आउन चाहेको यादवले जानकारी गराइसकेको जसपाका एक नेताले बताए । 


त्यसका लागि उनले बारा–२ लाई सहज निर्वाचन क्षेत्रको रूपमा देखेका छन् ।  बारा क्षेत्र नम्बर १ (ख) बाट मधेश प्रदेशसभामा विजयी भएका सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाएर बाराका मतदातालाई उपेन्द्र यादवले खुसी पारेका छन् ।

 

सोही क्षेत्रबाट चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाउँदा उपचुनाव जित्न थप सहज हुने उपेन्द्रको बुझाइ रहेको जसपाका एक नेता बताउँछन् ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्