ओली र भण्डारीको तानातानमा राष्ट्रपति पद

विकल्पमा डोरमणि, अष्टलक्ष्मी र शिवमाया
आइतबार, माघ ८, २०७९

काठमाडौँ– १० पुसमा नयाँ सत्ता समीकरणमा भागबन्डा गर्दा वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले राष्ट्रपति पद पनि पाएको चर्चा गरिएको छ ।

 

माओवादी केन्द्रसहित साना दलहरूसँग सत्ता भागबन्डामा एमालेले सभामुख पद पाइसकेको छ भने अब राष्ट्रपति पद प्राप्त गर्न एमाले प्रयास गरिरहेको छ ।

 

एमालेबाट देवराज घिमिरे सभामुख भएका छन् । राष्ट्रपतिमा एमालेबाट धेरै आकांक्षी भए पनि २ नेता प्रतिस्पर्धामा निकै अगाडि पुगेको चर्चा छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन एमालेभित्र छलफलसमेत थालेको नेताहरूले जानकारी दिएका छन् ।

 

परराष्ट्रमन्त्री विमला राई पौड्याललाई बनाएसँगै राष्ट्रपति भण्डारीले उपाध्यक्ष पोखरेललाई राष्ट्रपतिको उम्मेदवारका लागि अघि सारेको चर्चा एमालेभित्र छ । यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपति बनाउने तयारी गरेका छन् ।

 

नेम्बाङमा विवाद भए ओलीले शिवमाया तुम्बाहाङ्फेलाई अघि सार्ने र अन्तिममा पार्टीबाट नेम्बाङलाई सिफारिस गर्ने एमालेका एक नेताले जानकारी दिए ।

 

एमालेभित्र ओलीले राष्ट्रपतिका लागि नेम्बाङलाई अघि सार्दा राष्ट्रपति भण्डारीले उपाध्यक्ष पोखरेललाई राष्ट्रपति बनाउने योजना बनाएको एमाले नेताहरूको दाबी छ ।

 

एमाले केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नाम पनि चर्चामा छ । तर उनको नाम केवल चर्चाका लागि मात्रै ल्याइएको ती नेताको भनाइ छ ।

 

पौडेल भण्डारीनिकट नेता हुन् । तर उनको नाम भने ओलीले चर्चामा ल्याएका हुन् । ओली निवास बालकोटमा राष्ट्रपति कसलाई बनाउने भन्ने छलफलमा ‘डोरमणिजी पो योेग्य हुनुहुन्छ’ भनेर ओलीले नै उनलाई चर्चामा ल्याइदिएको एमालेका एक नेताले बताए ।
राष्ट्रपति भण्डारीको प्रस्तावमा महासचिव शंकर पोखरेल, उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र सचिव शेरधन राईको पनि समर्थन रहेको स्रोतको भनाइ छ ।

 

अर्थमन्त्री पौडेल पनि नेम्बाङलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छैनन् । एमालेको महाधिवेशनमा नेम्बाङकै कारण पौडेल महासचिव बन्न पाएका थिएनन् ।

 

एमालेको चितवन महाधिवेशनमा नेम्बाङ आफैँ महासचिव बन्ने प्रयत्नमा थिए । तर, सो महाधिवेशनमा नेम्बाङको नाममा सहमति हुन सकेन र उनलाई उपाध्यक्ष बनाइयो ।

 

आफू महासचिव बन्न नपाएपछि नेम्बाङले महासचिवमा पौडेललाई रोकेर शंकर पोखरेललाई सहयोग गरेको पौडेल पक्षको आरोप छ । सोही कारण उपमहासचिव पौडेल अहिले नेम्बाङलाई राष्ट्रपति बनाउन तयार भइरहेका छैनन् ।

 

‘राष्ट्रपति सर्वोच्च पद र महत्वपूर्ण भूमिकामा रहने भएका कारण पनि अध्यक्ष र राष्ट्रपतिले आफूनिकट नेता राष्ट्रपति बनाउन प्रयास गरिरहनुभएको छ,’ स्रोतले भन्यो ।

 

राष्ट्रपति भण्डारी एमालेकी पूर्वउपाध्यक्ष पनि हुन् । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी फेरि सक्रिय राजनीतिमा आउने चर्चा पनि बेलाबेलामा चल्ने गरेको छ ।

 

यस्तै, राष्ट्रपति पदमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नाम पनि चर्चामा छ । तर, शाक्य तेस्रो विकल्पमा राष्ट्रपति हुन सक्छिन् । राष्ट्रपति भण्डारी र शाक्यको सम्बन्ध राम्रो नभएका कारण उनको सम्भावना कम रहेको एमालेकै नेताहरू बताउँछन् ।

 

शाक्यलाई २०७४ सालमा तत्कालीन प्रदेश– ३ (हालको बाग्मती प्रदेश) को मुख्यमन्त्री बनाउने योजना एमालेको थियो । तर, उनलाई राष्ट्रपति भण्डारीकै कारण मुख्यमन्त्री बन्न रोकेर डोरमणि पौडेललाई बनाइएको चर्चा छ ।

 

पार्टी अध्यक्ष ओली पनि शाक्यप्रति सकारात्मक छैनन् । शाक्य नेकपाकालीन विवादमा ओलीको विपक्षमा थिइन् भने नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र बन्दा पनि उनी ओली विरोधी ‘१० भाइ समूह’ मा थिइन् ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सहमतिबाट छानिने बताइरहेका बेला एमाले अध्यक्ष ओली भने राष्ट्रपतिमा एमालेकै उम्मेदवार हुने र त्यसमै राष्ट्रिय सहमति बनाउनुपर्ने बताइरहेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्