पहाडी क्षेत्रमा आंशिक बदली, यस्तो छ देशभरको मौसम

शनिबार, माघ ७, २०७९

काठमाडौँ– आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि चिसो बढेको छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।

 

आज मौसम बदली हुँदा र घाम नलाग्दा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको छ । कतैकतै फाट्टफुट्ट हिमपात भएकाले पनि चिसो बढेको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

 

त्यस्तै,  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र मधेस प्रदेश तथा प्रदेश एकमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

 

आज काठमाडौँ उपत्यकामा बिहान न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।  काठमाडौँको उच्चतम तापक्रम हिजो १८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

 

त्यस्तै जोमसोम, जिरी र जुम्लामा न्यूनतम तापक्रम माइनसमा रहेको छ ।जोमसोममा माइनस ६ दशमलव ५, जुम्लामा माइनस ३ र जिरीमा माइनस १ दशमलव ३ डिग्री रहेको छ । पोखरामा ४ दशमलव ९, भैरहवामा ८, डडेलधुरामा ५, दिपायलमा ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्