४ शवको पोस्टमार्टम, २२ आफन्तलाई बुझाइयो

बुधबार, माघ ४, २०७९

काठमाडौँ–पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ । 


पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।


दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल ल्याइएको थियो ।


पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण भइरहेको छ । 


शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए । 
यस्तै, विमान दुर्घटनामा ज्यान गुमाएका ४८ जनाको शव काठमाडौँको शिक्षण अस्पतालमा ल्याइएको छ । ती शवको त्रिवि शिक्षण अस्पतालमा परीक्षण शुरु भएको छ । अहिलेसम्म ४ जनाको पोष्टमार्टम गरेको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरूले बताएका छन् । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा २२ जनाको पोष्टमार्टम गरिएको फरेन्सिक विज्ञ डा.गोपाल चौधरीले रातोपाटीलाई बताए । काठमाडौंबाट डा.चौधरी र डा.समारिका दाहाल शव परीक्षणका लागि पोखरा गएका थिए ।


६८ यात्रसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो ।   

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्