बिहेको उत्सव मनाउन घर आएका दम्पत्तिनै विमान दुर्घटनामा

हेमाजाकै चार/चार जना दुर्घटनामा परेपछि सिङ्गो हेमजा शोकमा
आइतबार, माघ १, २०७९

गण्डकी– पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।

 

अमेरिकाबाट शनिबार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा परे ।

 

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।

 

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गत वर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका थिए । 

 

उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका हुन् । ‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । 

 

सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा परेकी छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्