नेपाली कांग्रेसले संविधानको मर्म र लोकतान्त्रिक मान्यतामाथि प्रहार गर्‍यो: नेता रावल

मंगलबार, पुस २६, २०७९

काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर संविधानको मर्म र लोकतान्त्रिक मान्यतामाथि प्रहार गरेको बताएका छन् ।

 

मंगलवार साँझ सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता रावलले कांग्रेसले प्रतिनिधि सभामा एकातर्फ प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने र अर्कोतर्फ विपक्षमा बस्ने निर्णय गरेर संविधानको मर्म र लोकतान्त्रिक मान्यतामाथि प्रहार गरेको बताएका हुन् ।

 

उनले आफ्नो धारणामा संवैधानिक व्यवस्थाको व्याख्या गर्दै लेखेका छन्, ‘संविधानले परिकल्पना गरेको बहुदलीय प्रतिस्पर्धात्मक पद्धतिको उल्लंघन भएको छ । नेपालको संविधानमा कथित राष्ट्रिय सरकार वा प्रतिपक्ष विहीन संसदको व्यवस्था र परिकल्पना दुबै छैन ।’

 

उनले कांग्रेसलाई राजनीतिक नैतिकता र प्रजातान्त्रिक संस्कार देखाएर सत्ता पक्षको स्थानमा बस्नुपर्ने सुझाव दिएका छन् । संविधानको धारा २८४ मा रहेको संवैधानिक परिषद्को सदस्यमा प्रतिनिधि सभामा रहेका प्रधानमन्त्रीलाई मत नदिने वास्तविक प्रतिपक्षका लागि खालि गर्नसमेत उनले कांग्रेसलाई आग्रहसमेत गरेका छन् ।

 

‘विश्वासको मत दिदै सत्ता पक्षीय अनुहार देखाएर अन्य कुनै षडयन्त्रको सपना कांग्रेसले देखेको हो भने त्यो झनै अनिष्टकारी हुनेछ । हुनत प्रतिनिधि सभामा देखिएको खेल आम निर्वाचनमा देखिएको सिद्धान्तहीन गठबन्धन र सरकार निर्माणमा देखिएको पद उन्मुख अवसरवाद कै जारी रुप हो’, उनले अगाडी लेखेका छन् ‘यस्ता गतिविधिले लोकतान्त्रिक प्रणालीलाई स्वच्छ र बलियो बनाउनबाट रोक्नुका साथै संसारले नेपालमा कस्तो राजनीतिक प्रणाली हो भन्ने प्रश्न गर्ने स्थिति सिर्जना हुन्छ ।’

 

राजनीतिक दर्शन, सिद्धान्त र कार्यक्रमको दृष्टिबाट मुख्य प्रतिस्पर्धि भई विपरीत सिद्धान्त र मान्यता भएका दलहरु चुनाव र सरकारमा प्रतिस्पर्धा त्यागेर एक अर्कालाई समर्थन गर्ने बाटोमा जाने हो भने बहुदलीय प्रतिस्पर्धा भन्नु निरर्थक हुने उनको धारणा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्