बागमती प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री थपलिया

मंगलबार, पुस २६, २०७९

बागमती– बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई सरकारको प्रवक्ता तोकेको छ ।

 

बैठकले मन्त्रिपरिषद्को आकार घटाउने, समपूरक बजेटको बारेमा अध्ययन गर्ने, प्रदेश सरकारका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्ने प्रक्रियाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवलाई जिम्मेवारी तोक्नेलगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले जानकारी दिए ।

 

उनका अनुसार बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने छ । पछिल्लो मन्त्रिपरिषद्मा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । चार राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो । सरकारमा सहभागी सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले मन्त्रालय घटाउनुपर्ने अडान राखेको थियो ।

 

पन्ध्र दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने र जसका आधारमा मन्त्रालय सङ्ख्या टुङ्गोमा पुर्‍याउने मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए ।

 

प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् ।

 

प्रदेशमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा मन्त्रालयको सङ्ख्या आठ वटाबाट बढाएर १४ पुर्‍याइएको थियो । –रासस

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्