प्रचण्डले पाए ९९.२५ प्रतिशत सांसदको विश्वास, विपक्षमा २ सांसद

मंगलबार, पुस २६, २०७९

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभा उपस्थित २७० सांसद मध्ये २६८ जना सांसदले उनलाई विश्वासको मत दिएका हुन् । 

 

प्रचण्ड नेतृत्वकाे नेकपा माओवादी केन्द्रसहित संसदको ठुलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्रसमेत गरी २६८ सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् । 

 

विश्वासको मत नदिनेमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी रहेका छन् । यस्तै, नेपाली कांग्रेसबाट निर्वाचित सांसद  टेकबहादुर गुरूङ  निलम्बनमा परेका कारण उपस्थित हुन पाएनन् ।

 

प्रधानमन्त्री प्रचण्डले पाएकाे मत संसद्मा उपस्थित २७० सदस्यकाे ९९.२५ प्रतिशत हाे । 

 

प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका उनले विश्वासको मतका लागि सबै पार्टीलाई अनुरोध  गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्