न्यूनतम कार्यक्रमको कार्यान्वयनको योजना एक महिनाभित्र बनाउन प्रधानमन्त्रीको निर्देशन

सोमबार, पुस २५, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् । “सबै सचिवले आ–आफ्नो मन्त्रालयभित्र यो कार्यक्रमलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, एक महिनाभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ”, सचिवलाई निर्देशन दिँदै उनले भने ।

 

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्न आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सरकारले विश्वासको मत पाएपछि न्यूनतम् साझा कार्यक्रम दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यो पटक हामीलाई राष्ट्र र जनताको पक्षमा, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा दृढताका साथ अगाडि जानुको पक्षमा कुनै विकल्प छैन”, प्रधानमन्त्री दाहालले भने ।

 

नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सत्ता साझेदार दलहरुको एकताको आधार भएको उल्लेख गर्दै उनले सामाजिक, आर्थिक, राष्ट्रिय, शिक्षा, स्वास्थ्य, रोजगारी, परराष्ट्र नीतिसम्बन्धी सबै विषय कार्यक्रममा समेटिएको बताए ।

 

सरकारको योजना के कसरी अगाडि बढ्छ भन्ने कुरा कार्यक्रममा स्पष्ट आएको जनाउँदै उनले सबैले दुविधारहित ढङ्गले यसलाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताए । ‘जे हिसाबले हामीले नीतिगत प्राथमिकता तोकेका छौँ, कार्यक्रम बनाएको छौँ हामीले त्यसमा प्रतिबद्धता जाहेर गरेका छौँ, त्यसलाई लागू गरेरै छाड्छौँ”, उनले प्रश्न गरे, ‘कसैको डर, त्रास र प्रलोभनमा नपरी राष्ट्र र जनताका निम्ति सिङ्गो सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको छ । अब पनि नगरे कहिले गर्ने ?’

 

सरकारले ल्याएको साझा कार्यक्रम कुनै पनि अवस्थामा बेवारिसे नहुने दाबी गर्दैै उनले भने, ‘हामी त्यसो हुन दिने छैनौँ, कर्मचारीले पनि त्यसलाई पहिले जस्तै भन्ने त होला नि नेताहरुले भन्ने नठान्नुहोला ।’ साझा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने महत्वपूर्ण दस्तावेजका रुपमा रहेको उनको भनाइ छ । ‘हामीले यो पटक राम्रो काम गर्ने, नराम्रो गर्नै नदिने, बेथितिहरुलाई नियन्त्रण गरेर लैजाने प्रतिबद्धताअनुसार सरकार अगाडि बढेको छ’, प्रधानमन्त्री दाहालले भने । 

 

‘अर्थतन्त्र सम्हालिन सक्ने ठाउँमै छ’

प्रधानमन्त्री दाहालले मुलुक आर्थिक र राजनीतिक रुपमा अप्ठ्यारो अवस्थामा छ भनिने गरे पनि वास्तवमा त्यस्तो अवस्था नरहेको दाबी गरे । 

 

‘देश सङ्कटमा छ भन्ने कुरा होइन, देश केही अप्ठ्यारोमा भए पनि हामी यसलाई सम्हाल्न सक्ने ठाउँमा छौँ’, उनले भने, “अर्थतन्त्र सम्हालिन सकिने ठाउँमा छ । हामी सबैले दृढ इच्छाशक्तिका साथ एकताबद्ध भएर अगाडि बढ्दा साँच्चै नै देशको मुहार फेर्न सक्छौँ ।’

 

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सबैको इन्मान्दार प्रयत्नले मात्र सम्भव भएको उनको भनाइ छ ।  –रासस

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्