काफ्लेको यशोधाराको लोकार्पण

शुक्रबार, पुस ८, २०७९

लेखनाथ– पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण गएिको  छ ।

 

सिद्धार्थ गौतम ‘बुद्ध’ बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास आज लोकार्पण गरिएको हो ।

 

पुस्तकबारे बोल्दै समीक्षक तथा चिकित्सक जीवन क्षेत्रीले पुस्तकले गौतम बुद्धका बारेमा भनिँदै र सुनिँदै आएका कथामा खाली रहेका ठाउँहरू भरेको बताए । उनले भने, “यो पुस्तक हातमा परेपछि पहिलेका खाली ठाउँ भरिएला भन्ने अपेक्षा थियो । जसमा लेखक सफल पनि हुनुभएको छ । सधैँ गौतम बुद्धको कोणबाट सुन्दै पढ्दै आएको कथा लेखकले यशोधराको कोणबाट लेख्नुभएको छ ।” 

 

गौतम बुद्धसँगै पुस्तकले दुई हजार पाँच सय देखि तीन हजार वर्ष अघिको सामाजिक अवस्था तथा द्वन्द्वको पनि चित्रण गर्ने उनले बताए । पुस्तकमा सिद्धार्थ गौतम र यशोधराले सँगै बिताएको समयमा केन्द्रित भएर यशोधराको कोणबाट यो पुस्तक लेखिएको छ । उनले भने, “यशोधरा र सिद्धार्थ बीचको प्रेम, साथमा बिताएको १४ वर्ष, दुईजना साथसाथै हुँदा पनि रहेको मनोवैज्ञानिक दूरी, सामान्य मानवीय सम्बन्ध नहुँदाको पीडा, दुईबाट तीन पात्र हुँदा यशोधरा गुज्रिनु परेको मानसिक अवस्थाको चित्रण पुस्तकमा छ । जुन सबैभन्दा प्रभावकारी पक्ष पनि हो ।” 

 

सिद्धार्थ गौतम बुद्ध हुनुमा भूमिका र त्याग रहेकी यशोधरालाई इतिहासले बिर्सनु दुःखद् कुरा भएको पनि उनको  जिकिर छ । साथै यो पुस्तकमा लेखक काफ्लेले सशक्त रुपमा यशोधरालाई ल्याएको पनि उनले बताए । 

 

यशोधरा पढ्दै गर्दै आफूलाई सुरुमा प्रेम, वियोग र प्रतीक्षाको कथाजस्तो लागे पनि त्योभन्दा बढी यशोधराको बलिदानको कथा रहेको शीतल दाहालले बताए । उनले भने, “यो सिद्धार्थ गौतम भगवान् नहुँदैको कथा हो । जहाँ एउटा लोग्ने घर छोडेर जान्छु भन्दा सामान्य परिवारमा अहिले जस्तो द्वन्द्व हुन्छ त्यस्तै अथवा त्योभन्दा ठूलो त्यतिबेला दरबारमा हुन्छ ।” 

 

मानिसहरू धर्मसँग डराउने भएकाले पनि यशोधराको प्रेम सधैँ छायाँमा रहेको पनि उनको भनाइ छ । यशोधरा सिद्धार्थलाई एकदमै धेरै प्रेम गर्थिन । यहाँसम्म कि बादलमा समेत सिद्धार्थकै आकार देख्थिन् । उनले भने, “तर हामी धर्मसँग डराउँछौँ । यशोधरा र सिद्धार्थको प्रेमका बारेमा बोल्न डराउँछौँ । उनीहरुले प्रेम गरे, उनीहरूका प्रेमका कारण छोरो राहुल जन्मियो भन्न डराउँछौँ । हामी सिद्धार्थ गौतम पनि हामी जस्तै सामान्य मान्छे हुनुहुन्थ्यो भन्ने बिर्सन्छौँ । त्यसैले गर्दा इतिहासले यशोधराको प्रेम, त्याग र बलिदान लुकाइरह्यो । हामी न गौतम बुद्धको बाटोमा जान सकेका छौँ । न त यशोधरालाई स्वीकार्न सकेका छौँ ।” 

 

किताब सकिइसकेपछि यशोधरा पनि आफ्ना लागि तपस्वीजस्तो लागेको शीतलले बताए । “यशोधरा यस्तो प्रेमिका हो जो नआउने प्रेमीलाई पर्खेर बसेको छ । आउँदैन, आए पनि मलाई स्वीकार्दैन भन्ने थाहा हुँदाहुँदै पनि पर्खेर बस्नु पनि तपस्या गर्नु जस्तो होइन?”, शीतलको प्रश्न छ । 

 

यस पुस्तकबाट हिन्दू र वैदिक सभ्यताका साथै साङ्ख्य दर्शन, तत्कालीन समाजको चित्रण पनि गर्ने प्रयास गरेको यसका लेखक हरिबोल काफ्लेले बताउनुभयो ।  काफ्लले भने, “यस पुस्तकमा सिद्धार्थ गौतम गौतम बुद्ध बन्ने प्रक्रियामा यशोधराको त्याग तथा पर्खाइको कथा त हो नै साथै यसले इतिहास, समाज, विविधताको परिकल्पना, तत्कालीन जीवन पद्धति, प्रताडनको अवस्थाको पनि चित्रण गर्न खोजेको छु । –रासस

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार