को हुन् चार्ल्स शोभराज? यस्तो छ उनको अपराध यात्रा–

भारतको मुम्बईमा कार चोर्ने र बेच्ने गर्थे
बुधबार, पुस ६, २०७९

काठमाडाैँ– चार दशकअघि नेपालमा अमेरिकी र क्यानडेली महिलाको हत्या गरेको अभियोगमा झन्डै १९ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा रहेका चार्ल्स शोभराजलाई अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिनभित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

 

झण्डै ४७ वर्षअघि २०३२ साल माघ ६ गते भक्तपुरमा अमेरिकी र क्यानडेली महिलाको हत्या गरेको  तत्कालिन गाउँ पञ्चायतका प्रधानपञ्च गोकर्णबहादुर कार्कीले जाहेरी दिएका थिए । अमेरिकी महिला कोनी जो ब्रोनजिक र उनको क्यानडेली साथी लरेन्ट केरिरेको हत्या अभियोगमा शोभराजलाई फरक–फरक कर्तव्य ज्यान मुद्दामा काठमाडाैँ र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका थिए ।  त्यसलगत्तै उनी नेपालबाट फरार भएका थिए ।

 

सो फैसला सर्वोच्च अदालतसम्म सुनुवाई हुँदा सर्वोच्चले ६ वर्षअघि काठमाडाैँ र भक्तपुर जिल्ला अदालतले गरेको जन्मकैदको फैसलालाई सदर गरेको थियो । जाहेरी परेलगत्तै फरार रहेका उनी २०६० मा नेपाल आउँदा भने नेपाल प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। त्यसयता उनको जीवन केन्द्रीय कारागारमा बितिरहेको छ।

 

नेपालको कानुनअनुसार जन्मकैदको अवधि २० वर्ष रहेको छ । उनी १९ वर्षदेखि कारागारमा थिए । कारागार परिसरमै रहेको अस्पताल प्रशासनका अनुसार मुटुका रोग देखा परेपछि कारागारमै रहँदा ३ वर्षअघि उनको ’ओपन हार्ट सर्जरी’ गरिएको थियो । अन्य कैयौँ कैदीबन्दीलाई जस्तै शोभराजको उपचारमा पनि नेपाल सरकारले लाखौँ रकम खर्चिएको छ। उनी कारागारमा रहँदा ७८ वर्ष पुगिसकेका छन् । 

 

नेपालको कानुनअनुसार वृद्धअवस्थामा कारागारमा जेल जिवन बिताइरहेका कैदीलाई कैद माफ हुने सुविधा रहेको छ । कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ। सोही कानुनी व्यवस्थामा टेकेर शोभराजले आफू ७८ वर्षको भइसकेको र नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था लागू हुनुपर्ने भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएको हुन् । सोहि निवेदनमाथि विचार गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिनभित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो।

 

शोभराजले अन्तिम इच्छा घर फर्किने र छोरी भेट्न रहेको बताउँदै आएका छन् । कारागारमा रहँदा उनले आफूले जापानी नागरिकसँग बिहे गरेको र उनीबाट एक छोरी जन्मिएको  र आफू नेपाल आउँदा छोरीको उमेर ६ महिना मात्र पुगेको बताउने गर्थे ।  

 

को हुन् चार्ल्स शोभराज?

विश्वभर उनी कुख्यात अन्तर्राष्ट्रिय अपराधी  ‘विकिनी किलर’ र सिरियल किलर’ का उपनामले चिनिन्छन् । तर, उनको वास्तविक नाम भने चार्ल्स शोभराज गुरुमुख हो । नेपालमा बस्दा उनी आफुलाई  शोभराज हेनरिकस विन्टाँजा नामले चिनाउने गरेका थिए ।

 

उनी हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६ अप्रिल सन् १९४४ मा जन्मिएका हुन् । उनका पिता भारतीय मूलका र आमा भियतनामी हुन् । बुवाको नाम भवानी शोभराज हो । अहिले उनको स्थाई घर फ्रान्सको पेरिस शहरमा छ । उनलाई भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त भएको मानिन्छ ।

 

चार्ल्स शोभराजको अपराध यात्रा

नेपालमा मात्रै नभई भारतलगायत विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ । हालसम्म शोभराजले २० भन्दा बढी पर्यटकको हत्या गरेको उल्लेख छ । उनी थाइल्यान्ड प्रहरीको मस्ट वान्टेड सुचीमा अझैसम्म छन् । उनीमाथि थाइल्यान्ड  १४ जनासहित टर्की, ईरान लगायतका मुलुकमा गरी झण्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ। तर, सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको बताइन्छ। 

 

पहिलोपटक उनी चोरीको अभियोगमा १९६३ मा पेरिसमा पक्राऊ परेका थिए । त्यसपछि उनी पेरिसको संभ्रान्त परिवारदेखि अन्डरवल्डसम्मको संगतमा परेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

 

उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए । भारतको मुम्बईमा कार चोर्ने र बेच्ने गर्थे। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी छुटेपछि अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भए । पुनः भारत फर्किएपछि उनी पक्राउ परे सन् १९७६ देखि १९९७ सम्म २१ वर्ष जेल जिवन बिताए । भारतको चर्चित तिहाड जेलमा बस्दा उनले जेल प्रशासनलाई घूस दिएर विलासी जीवन बिताएको चर्चा पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  २०:४०
प्रतिक्रिया दिनुहोस्