व्यवसायिक खेती प्रवर्धन गर्न किसान कार्ड

मंगलबार, पुस ५, २०७९

काठमाडौँ – निर्वाहमुखी तरकारी खेती गर्दै आएका वीरेन्द्रनगर–१० रहलपुरका कृषक व्यावसायिक तरकारी उत्पादन गर्न लागिपरेका छन् । भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन् ।

 

निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले रु ५० हजार बराबरको तरकारीको बीउ र अन्य कृषि सामग्री किनमेल गर्न पाएपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै गएको हो ।


 
वीरेन्द्रनगर–१० रहलपुरकी राधा चौधरीले १० कठ्ठा जमिनमा तरकारी खेती लगाएको बताइन् । उनले तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि रोजगारीका लागि समेत अन्त जानुपर्ने समस्या समधान भएको बताइन्  । ‘तरकारी खेती गर्ने सीप र आवश्यक पर्ने बीउबिजन किन्नका लागि क्रेडिट कार्ड पाएसँगै आफ्नो पाँच जनाको परिवार तरकारी खेती गरेको’, उनले भनिन् ।  

 

‘परिवारका पाँच जना सदस्य नै बिहान सबेरैदेखि साँझ अबेरसम्म कृषि व्यवसायमै व्यस्त हुन्छौँ,’ उनले भनिन्, ‘आलु, काउली, टमाटर, धनिया, साग, मुलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छौँ र दैनिक ५० किलो तरकारी बेच्ने गरेका छौँ ।” कार्ड पाएपछि आवश्यक बीउबिजन, विषादी, कृषि उपकारणलगायत सामग्री किन्न सजिलो भएको चौधरीले बताइन्। ‘घरमा पैसा नभए पनि समस्या छैन, क्रेडिट कार्ड पाएपछि कृषि व्यवसायमा ठूलो राहत मिलेको छ,’ उनले भनिन् ।  

 

उनीजस्तै वीरेन्द्रनगर–९ की शान्ति चौधरीले पनि सात कट्ठामा तरकारी खेती सुरु गरेकी छन् ।   उनले  दैनिक ५० किलोसम्म तरकारी बिक्री गरी मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेकी छन् ।  ‘घरमा  तरकारी लगाए पनि निर्वाहमुखी थियो, त्यति तरकारीले घरमा खान पुग्दैन थियो ।

 

तरकारी किन्न हामी आफैँ बजार आउँथ्यौँ, अहिले आफैँ व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानीसँगै परिवारका लागि खाने तरकारी प्रशस्त फलाउने गरेका छौँ,’ उनले भनिन् । पाँच  जनाको परिवारको खर्च सजिलै टरेको उनको भनाइ छ ।  महिनामा कम्तीमा रु एक लाखसम्म बचत गरिरहे उनको दाबी छ । उनको तरकारी बारीमा अहिले काउली, आलु, लसुन, धनिया, साग, मुला, टमाटरलगायत तरकारी उत्पादन भइरहेको छ ।


 
सिसा परियोजनाले मेगा बैंकसँग सहकार्य गरी चिप्ससहितको क्रेडिट कार्ड बनाएको हो । सुर्खेतमा पहिलो चरणमा ५० जनाले कार्ड पाएका छन् । जिल्लाभरि दुई सय जनालाई यो वर्ष परिचयपत्र वितरण गरिने सिसा परियोजनाका अधिकृत अष्ट प्रजापतिले जानकारी दिए । उनले परियोजनामार्फत किसानलाई खाताबुकसमेत दिएको र किसानले हरेक दिन बेच्ने तरकारी नाम, बिक्री भएको परिणाम, खर्च र जम्मा भएको रकम खातामा टिपेर राख्ने गरेको बताए। 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्