सिद्धार्थनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगायो रोक

सोमबार, पुस ४, २०७९

काठमाडौँ– सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

 

गुट्खा प्रकृतिका सुर्तीजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नाका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकाले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । 

 

नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । ३५ दिनपश्चात् पनि गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवाना लिइने पौडयालले बताए ।

 

सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु नगरपालिकाको उद्देश्य रहेको बताउँदै सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले त्यसै अनुरुप गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिए। उनले यस निर्णयले सुरुआती चरणमा व्यवसायी र गुट्खा पारखीहरुलाई समस्या जस्तो अनुभूति हुन सक्ने भए पनि यसले नगर सुन्दर र सफा राख्न मद्दत पुग्ने बताए।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  २०:१३
प्रतिक्रिया दिनुहोस्