घिमिरेको सातौँ कृति ‘मेरा बीज अक्षरहरू’ सार्वजनिक

आइतबार, पुस ३, २०७९

काठमाडौँ–इञ्जिनीयर डा हेमनाथ घिमिरेको सातौँ कृति ‘मेरा बीज अक्षरहरू’ कविता सङ्ग्रह सार्वजनिक भएको छ ।

 

सङ्ग्रहमा गद्यशैलीका ३१ वटा कविता छन् । बङ्गलादेशको पद्मा नदीमा छ किमी लामो पुल बनाउन योगदान गर्नेमध्येका इञ्जिनीयर घिमिरेका यसअघि ‘छातीभित्र देश दुख्दा’ (२०६०) कविता सङ्ग्रह, ‘देशको माटो’ (२०७४) कविता सङ्ग्रह, गीतहरुको एल्बम, ‘बादलपानी’ (२०७८) बाल कविता सङ्ग्रह, ‘महिना र ऋतु’ (२०७८) बाल कविता सङ्ग्रह, ‘रङ्गीन कालो’ (२०७९) कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

 

पद्मकन्या बहुमुखी क्याम्पस, संस्कृत, पत्रकारिता र हिन्दी विभागले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा साहित्यकार तुलसी दिवसले मौलिक रचनाको नेपाली साहित्यमा अझै आवश्यकता रहेको बताए। कार्यक्रममा विभागका प्रमुख उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, संस्कृत विषयका प्रा डा सुबोध शुक्ललगायतले प्राविधिक क्षेत्रमा रहेर पनि घिमिरेले नेपाली साहित्यलाई आधा दर्जन बढी मौलिक कृति दिएको बताए ।

 

सो अवसरमा घिमिरेको जीवनीमा अध्ययन गरी लेखिएको पुस्तक ’‘डा हेमनाथ घिमिरे व्यक्ति र कृति’ (समालोचना) पनि सार्वजनिक गरिएको थियो । भगवती शर्माले सो पुस्तक लेखेकी हुन् । पुस्तकमा घिमिरेको जीवनका विभिन्न पाटाका बारेमा चर्चा गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्