आईपीओ जारी गर्दा वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत छुट्याउनुपर्ने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने कम्पनीलाई वैदेशिक रोजगारीमा जाने नेपालीका लागि १० प्रतिशत कोटा छुट्याउने निर्देशन दिएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९ लागु गर्दै वैदेशिक रोजगारीमा रहेको युवालाई १० प्रतिशत आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको छ । संगठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याउनु पर्ने व्यवस्था निर्देशिकामा गरेको छ । यसरी छुट्याएको सेयर निष्कासन गर्दा निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्नु अगावै १५ दिनको अवधि तोकी आह्वान पत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । उक्त सेयरमा आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०३
प्रतिक्रिया दिनुहोस्