तिम्सिनाको जीवन कथामा आधारित ‘हिम्मतवाली आमा डम्बरकुमारी’ लोकार्पण

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – डम्बरकुमारी तिम्सिनाको जीवन कथामा आधारित कृति ‘हिम्मतवाली आमा डम्बरकुमारी’ सार्वजनिक भएको छ। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, डम्बर कुमारी तिम्सिना लगायतले एक कार्यक्रमका बीच कृति लोकार्पण गरेका हुन् । घोस्ट राइटिङले प्रकाशन गरेको आत्मपरक कृति  ‘हिम्मतवाली आमा डम्बरकुमारी’ पूर्व सूचना आयुक्त अग्रज पत्रकार यशोदा तिम्सिनाले लेखेकी हुन । कार्यक्रममा पुस्तकका  बारेमा चर्चा गर्दै डा. अर्चना थापाले फरक खालका कृतिहरू नेपालमा आउन थालेको प्रति खुसी व्यक्त गरेकी छन् । हरेक व्यक्तिको आ–आफ्नो कथा हुन्छ भन्दै डा. थापाले ‘हिम्मतवाली आमा डम्बरकुमारी’ पनि सम्पूर्ण नेपाली आमाहरूको कथा भएको बताइन् । यस्तै सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले पुस्तकका बारेमा विस्तृत समीक्षा गरेका थिए । डम्बरकुमारी तिम्सिना आमाको माइती रहँदाको भाग, बिहे गरेपछिको जीवनको भाग र आफ्नै घर बनाए पछिको जीवन गरी पुस्तक तीन भागमा विभाजन भएको छ । माइतमा हुँदा भोगेका अनुभव, बिहेगरे पछि आएको घर पराई घर जस्तै भएको अनुभव र आफूले घर बनाएपछि आफ्नो घरमा भोगेको जीवनका अनुभवको सेरोफेरोमा कृति लेखिएको छ । मूल्य रु ३ सय राखिएको कृति ‘हिम्मतवाली आमा डम्बरकुमारी’ले अन्य आमाहरूको कथा लेखनमा पनि उत्प्रेरणा मिलेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५२
प्रतिक्रिया दिनुहोस्