व्यवसायिक कुखुरापालनबाट मनग्य आम्दानी, झापाका एक किसानले वार्षिक ४० लाख कमाए

बिहीबार, मंसिर ८, २०७९
झापा– झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गर्दै आएका छन् ।उनले यसबाटै राम्रो कमाइसमेत गरिरहेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए । एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाँच वर्षसम्म अण्डा दिने गरेको तर १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने बताउछन् । ‘स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ’, व्यवसायी गिरीले सुनाए । बिबीएस पास गरेका उनी क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताएका थिए । तर जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनले बताए । कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनी वताउछन् । फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ । अण्डा प्रतिगोटा रु ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे । लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ । कुखुराको सुली ९मल०बाट समेत राम्रो आम्दानी हुने गरेको उनले वताए । प्रतिबोरा रु तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुईवटा ठूला–ठूला कटेरोमा कुखुरा पालिएको छ । कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरिरहेका छन् । उनले भने, ‘कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पु¥याएर काम गर्दा नाफा हुन्छ ।’ कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँने अनुभव उनीसंग छ । यसपालि पनि धेरै कुखुरा मरेका उनले बताए । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए । ‘हामीजस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ ।’, उनले भने ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्