पीएम कप आजबाट, पहिलो दिन दुई खेल हुने

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगीताको पहिलो दिन २ खेल हुने छन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एपीएफ र त्रिभुवन आर्मीले उद्घाटन खेल खेल्ने छन् । यस्तै, पहिलो दिनको दोस्रो खेल मुलपानी मैदानमा पुलिस र बागमती प्रदेशबीच हुने छ । उद्घाटन खेल बिहान ९ः३० बजे सुरु हुनेछ भने मुलपानी स्थिति क्रिकेट मैदानमा हुने खेल पनि सोही समय हुने क्यानले जनाएको छ । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको क्यानले जनाएको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्। हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् । राखेपले उपलब्ध गराउने ६० लाखसहित प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रहेको क्यानले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्