नेभिगेशन
समाचार

चुनावमा स्वविवेक प्रयोग गर्न वामदेवको आग्रह

काठमाडौं–नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताएका छन् । गौतमले आज विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताहरुलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न आह्वान गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धन दुबै बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध भएको गौतमको ठहर छ । यी गठवन्धनका क्रियाकलापले संविधानको अक्षर र भावनाको खिल्ली उडाएको गौतमले टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन । उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं ।’ यी दुवै गठबन्धनको उच्चतम् उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्ने वाहेक अरु केही रहेको नदेखिएको गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार