नेभिगेशन
समाचार

काठमाडौँ २ मा कसको पल्ला भारी ?

काठमाडौँ – काठमाडौँको क्षेत्र नं. २ मा कसको पल्ला भारी होला ? यो प्रश्न सबैको मनमा छ । गठबन्धनको तर्फबाट नेकपा माओवादीकी ओनसरी घर्तीको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट मणिराम फुयाँलले उम्मेदवारी दिएका छन् भने राप्रपाले कुन्तीदेवी पोखरेललाई उम्मेदवारका रूपमा अघि सारेको छ । माधवकुमार नेपालको क्षेत्रका रूपमा चिनिएको काठमाडौँ क्षेत्र नं. २ मा गठबन्धनलाई सहज हुने धरैको अनुमान छ । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एस मिलेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र भएकाले पनि गठबन्धनलाई सहज हुने अनुमान स्वाभाविक पनि हो । नेकपा माओवादी केन्द्र झक्कु प्रसाद सुवेदीले माधवकुमार नेपाललाई नै हराएका थिए । तर, तत्कालीन २०६४ सालको जस्तो माओवादी केन्द्रको सङ्गठन नभएकोले एक्लै माओवादीका लागि काठमाडौँ क्षेत्र नं. २ त्यति सहज ठाउँ भने होइन । माओवादीले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा भने माधव कुमार नेपालले जितेका हुन् । उनी तत्कालीन नेकपा एमालेका महासचिव थिए । त्यति बेला नेपाल रौतहटबाट पनि विजयी भएकाले काठमाडौँ क्षेत्र नं. २ मा उपनिर्वाचन भयो । उपनिर्वाचनमा काँग्रेसका दीपक कुइँकेल विजयी भए । काठमाडौँ महानगरका केही वडा, कागेश्वरी मनहराका केही वडा र शंखरापुर नगरपालिकाको क्षेत्रफल समेटिएको काठमाडौँ क्षेत्र नंं. २ मा राप्रपाको प्रभाव पनि उत्तिकै छ। गत स्थानीय तहको निर्वाचनमा राप्रपाले शंखरापुर नगरपालिकाका केही वडा सहित प्रमुखमा जित हासिल गरेको छ । त्यसको प्रभावले पनि अहिलेको निर्वाचनमा राप्रपालाई पनि कम आकलन गर्न नसकिने केहीको बुझाइ छ। राप्रपाले उम्मेदवार बनाएकी कुन्तीदेवी पोखरेल आफैमा समाजसेवी पनि हुन् । उनको समाजमा राम्रो प्रभाव भएका कारण पनि काठमाडौँ क्षेत्र नं. २ का जनताले राप्रपालाई पत्ताउने अर्को पङ्तिको पनि तर्क छ । कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर ४ देखि ९ सम्म काठमाडौँ क्षेत्र नं. २ ले ओगट्ने र नेकपा एमालेका उम्मेदवार मणिराम फुयाँल पनि कागेश्वरी मनोहराका स्थानीय भएकाले एमालेले पनि काठमाडौँ क्षेत्र नं. २ लागि बलियो आधार बनाएको छ । २०७४ सालको निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट माधवकुमार नेपाल विजयी भएका थिए । गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा वडाध्यक्षहरूले पाएको मतका आधारमा सबैभन्दा धेरै मत एमालेले पाएको थियो । यो निर्वाचन क्षेत्रमा पर्ने शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडामा एमालेले १७ हजार ३ सय २५ मत पाउँदा काँग्रेसले १४ हजार १ सय २८ मत, नेकपा एकीकृत समाजवादीले ८ हजार ७४, राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको थियो । यही मतलाई आधार मान्ने हो भने पनि गठबन्धनको सबै मत जोड्दा २५ हजार बढी हुन्छ । एमालेको मत सत्ता गठबन्धन दलभन्दा ८ हजार मत कम हुन्छ । गठबन्धनमा सन्तुष्ट नभएको काँग्रेसको केही मतदाता, एकीकृत समाजवादीका केही र माओवादी केन्द्रका केही मतदाताको मनोविज्ञानलाई पनि कतिपयले आधार मानेर एमालेको सम्भावना देख्छन् । सम्भावना आ–आफ्नो दृष्टिकोणबाट भए पनि यो क्षेत्रमा त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको छ। रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरेपछि केही मत राप्रपामा थपिएको अनुमान छ । समग्रमा हेर्दा काठमाडौँको क्षेत्र नं. २ मा कसको पल्ला भारी भन्ने प्रश्नको उत्तर अहिले नै अनुमान गर्नु हतार हुन सक्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार