नेभिगेशन
समाचार

तनहुँमा चुनावी सरगर्मी सुरु

दमौली– ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यका लागि हुने चुनावका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको बताइन्छ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । २०७४ को चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवारसँग पराजित उनी यसपटक जित्ने दाबी गर्छन् । गत चुनावमा जनतामा असमझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यस पटक तनहुँका जनताले विजयी गराउने विश्वास व्यक्त गर्छन् । उता क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि २ पूर्व वनमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट शंकर भण्डारी र नेकपा (एमाले) बाट किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । गण्डकी प्रदेशका समेत पूर्व अर्थमन्त्री रहेका गुरुङ मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवार बनेको बताउँछन् । उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावको माहोल बनेको अधिवक्ता भानुभक्त सुवेदीको भनाइ छ । ‘उम्मेदवारी दर्ता अगाडि पनि चुनावको चर्चा हुने गरेको थियो, अब त उम्मेदवारी दर्ता नै भइसकेपछि झन् माहोल चुनावमय बन्यो,’ उनले भने । २०७४ को चुनावमा नेपाली कांग्रेसले २ प्रतिनिधिसभा र ४ प्रदेशसभा गरी छ सिट गुमाएको थियो । यो पटक छ वटै सिट कांग्रेस र गठबन्धनलाई विजयी गराउने हिसाबले चुनावको तयारी गरिने नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल जानकारी दिए । चुनावको तयारीस्वरूप सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् । एमालेले दुवै क्षेत्र र ४ प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउने उपाध्यक्ष हरिराज कँडेलले बताए । तनहुँ क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनको पहिलो चरणको बैठक बसिसकेको र यसलाई निरन्तरता दिइने नेकपा (माओवादी) केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले जिल्लाका १०मध्ये ५, नेकपा (एमाले) ले ४ र नेकपा (माओवादी) केन्द्रले १ स्थानीय तहमा विजय हासिल गरेको थियो । जिल्लामा २ लाख ४८ ४९५ मतदाता छन् । स्थानीय तहको निर्वाचनपछि तनहुँमा ४ हजार १५५ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा २ लाख ४४ हजार ३४० मतदाता थिए । तनहुँ क्षेत्र नम्बर १ तर्फ १ लाख २३ हजार ४९० र क्षेत्र नम्बर २ तर्फ १ लाख २५ हजार ५०० मतदाता कायम भएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार