नेभिगेशन
समाचार

पुरानालाई नयाँको 'काउण्टर': कति सम्भव, कति असम्भव !

काठमाडौँ -मंसिर आउन अझै केही महिना बाँकी छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि मंसिर ४ गते निर्वाचन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ १ बाट कसले बाजी मार्ला भन्ने चासाे र प्रश्न मतदातासँगै स्थानीयमा छ । यतिबेला काठमाडौँ १ बाट स्वतन्त्रसहित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चुनावी मैदानमा छन् । स्वतन्त्रका पुकार बमले स्थानीय निर्वाचनको नतिजापश्चात काठमाडौँ क्षेत्र नं. १ का लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको निर्वाचनमार्फत संसद् छिर्ने दाउमा छन् । काठमाडौँको क्षेत्र नं. १ मा पुकार बम मात्र होइनन् । नाम चलेका पूर्व डिआइजी रमेश खरेल पनि चुनावी मैदानमै छन् । सुशासन पार्टी नेपालका अध्यक्षसमेत रहेका खरेल काठमाडौँ क्षेत्र नं. १ का मतदाताले आफूलाई विश्वास गरेर मत दिई प्रतिनिधिसभामा पठाउनेमा ढुक्क छन् । २०७४ सालको प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका रविन्द्र मिश्र पनि प्रतिनिधिसभाको चुनावी ब्याटलका लागि मैदानमा छन् । आउने निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नं. १ मै आफ्नो उम्मेदवारी रहने मिश्रको भनाइ छ । उसो त साझा विवेकशील पार्टीको अध्यक्षबाट राजीनामा दिएका मिश्र आफू निकट नेता तथा कार्यकर्ता बोकेर राप्रपामा जाने तयारीमा रहेको धरैको बुझाइ छ। किनकी पछिल्लाे समयमा मिश्रकाे राजनीतिक सक्रियताले त्यही छनक देखाएकाे छ।  राजतन्त्रको पक्षमा वकालत गरेका कारण अहिलेको निर्वाचनमा धरै भोट नआउने उनी निकटकै नेताहरूको बुझाइ छ । तर, मिश्र भने नेकपा एमालेको साथ लिएर राप्रपाबाट निर्वाचन लड्ने तयारीमा जुटेका छन् । स्थानीय तह निर्वाचनको मतदातालाई हेर्ने हाे भने राप्रपाको १ हजार ३ सय बढी र एमालेको ९ हजार बढी मतसँग आफ्नो निजी मत जोडेर आफूले निर्वाचन जित्नेमा मिश्र ढुक्क जस्तै छन् । तर, गत वर्षको निर्वाचनमा पाएको १० हजार मत अहिले मिश्रले नपाउने उनीसँगका साथीहरूको बुझाइ छ । ‘अहिले उहाँले मत धेरै पाउनु हुन्न’ मिश्रसँग लामो समय एउटै पार्टीमा काम गरेका एक नेताले भने, ‘पहिला वैकल्पिक राजनीतिको अभियान थियो । अहिले उहाँ त्यो अभियानबाट टाढा हुनुहुन्छ । हामीले सहयोग नगरे उहाँको भोट पहिलाको जस्तो आउँदैन ।’ मिश्रले एमाले र राप्रपाको भोट ल्याउने भन्ने भए पनि एमालेबाट नै दुईजनाको नाम सिफारिस भएको छ। एमालेबाट नाम सिफारिस हुनेहरूमा रुपनारायण श्रेष्ठ र विदुर मैनाली छन् । एमालेका श्रेष्ठको विगत विवादित छ भने मैनाली २०५४ सालमा काठमाडौँ महानगरपालिकाको उपमेयर जितेका व्यक्ति हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका प्रकाशमान श्रेष्ठले ३ पटक क्षेत्र नं. १ बाट जितेर प्रतिनिधिसभामा पुगेका छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादीको लहर चलेका बेला पनि प्रकाशमानले काठमाडौँ क्षेत्र नं. १ बाट निर्वाचन जितेका थिए । यस्तै २०७० सालमा पनि उनलाई काठमाडौँ क्षेत्र नं. १ को प्रतिनिधि भएर संसद् छिर्न कसैले रोकेन भने ७४ सालमा पनि एमाले र माओवादीको गठबन्धनमा समेत उनले राम्रै मतले जितेका थिए । ७४ सालमा प्रतिस्पर्धामा आएका रविन्द्र मिश्रले अहिले बाटो खाली गरिदिएको कांग्रेस नेताहरूको भनाइ छ। स्वतन्त्रको बहावले काठमाडौँ महानगर, धरान र धनगढी उपमहानगर हल्लाएको जल्दोबल्दो परिस्थितिमा काठमाडौँ १ मा पुराना नेताहरुलाई सकस भने अवश्य पनि छ । मतदाताको हिसाबले बलिया मानिएका प्रकाशमान सिंहले अहिलेसम्म केही पनि नगरेको आरोप खेरिरहनु परेको छ । स्वतन्त्र उम्मेदवारी दिएका पुकार बम भन्छन्, ‘काठमाडौँ क्षेत्र नं. १ मा गर्नु पर्ने काम धेरै छन् । सबैभन्दा बढी चुनौतिको काम भनेको सुकुम्बासी व्यवस्थापन रहेको छ। सुकुम्बासी क्षेत्रमा पनि ३ हजार बढी मतदाता छन् । उनीहरुको व्यवस्थापनको कुरा गरेर अरुले चुनाव जित्दै आएका छन् । अहिलेसम्म समस्या समाधान भएको छैन्। ’ काठमाडौँ महानगरका त्रिपुरेश्वर, डिल्लीबजार, नयाँ बानेश्वर, र शान्तिनगर क्षेत्र नम्बर १ मा पर्दछन् । दलगत रुपमा स्थानीय तहको मतको आधारमा विश्लेषण गर्दा कांग्रेस ९ हजार ८९५ मतका साथ पहिलो स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार